चितवन(खैरहनी),९ पौष । लघुवित्त संस्था पीडितहरु सरकार विरुद्ध सशक्त आन्दोलनमा उत्रने तयारी गरेका छन् । आइतवार चितवनको खैरहनीमा आयोजित पीडितहरुको भेलामा उनिहरुले आफूहरुको माग संवोधनगर्न सरकारले तदारुकता नदेखाएको आरोप लगाए ।
पीडितहरुको पक्षमा सरकार नदेखिएकाले सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रने गरी भेला आयोजना गरेका हुन । भेलाले सुधा पाठकको अध्यक्षतामा संघर्ष समिति पुनर्गठन गरेको छ । समितिलाई क्रियाशील बनाउन पुर्नगठन गरेको हो । शिवकान्त चौधरी सचिव रहेको समितिमा अन्य पदाधिकारी र सदस्य पछि चयन गर्ने भेलाले निर्णय गरेको छ । भेलालाई संवोधन गर्दै संघर्ष समिति गण्डकी इन्चार्ज धनकुमारी विकले अब जिल्लारजिल्ला एकजुट भएर केन्द्रमा दबाब दिन जरूरी भएको बताईन।
उनले ‘हाम्रो आन्दोलन शान्तिपूर्ण भएको कारणले गर्दा माग पूरा भएन, आफुहरु चरम शोषणमा परेका छौँ ।रोडमा कराएर मात्र भएन, हाम्रो पीडा सरकारले बुझेन र न्याय दिन सकेन, अब कडा आन्दोलनको तयारीमा रहेका छौ ।’ सरकारले वार्तामा भएको सहमतिमा हामी चुप लागेर बसेको भन्दै उनले अब चुप लागेर बस्ने अवस्था नरहेको बताइन् । भेलामा बागमती प्रदेश संयोजक छत्रबहादुर मोक्तानले न्यायका लागि एकजुट भएर सरकारलाई दबाब दिन जरूरी रहेको बताए ।
पीडितले न्याय पाउनुपर्नेमा सरकारले हाम्रो गाँस, बास, कपास नै खोसेको उनले बताए । दिदीबहिनीहरुले लघुवित्तबाट केही कर्जा लिएर काम गर्छु भन्दा सरकार किन निरीह भएको र लघुवित्तको कारणले गर्दा भूमिहीन हुन बाध्य भएको भन्ने बारेमा मोक्तानको आक्रोश थियो । फागुन १ गतेबाट काठमाडौँकेन्द्रित आन्दोलनको तयारीमा रहेको उनले जानकारी दिए । अब लघुवित्तीय संस्था घरमा आउने, फोन गर्ने गरेमा एकजुट भएर त्यसको सामना गर्ने सहभागीको जोड थियो ।
भेलामा सहभागी पिडितहरुले लघुवित्तले आफुहरुलाई धम्की दिने,परिवार नै बाटोमा ल्याईदिने र आत्महत्या गर्न बाध्य बनाउने गरेको समेत बताए। लामो समय देखि लघुवित्त पिडितहरु नवसामन्तीको रुपमा खोलिएका लघुवित्त संस्था खारेज हुनुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, जनपक्षीय मौद्रिक नीति लागू गर्नुपर्ने, लघुवित्तीय संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम खारेज गर्नुपर्ने लगायतका माग राखेर आन्दोलित छन् ।




–00–


