दुर्गा प्रसाईंलाई ओलीको चुनौतीः कम्बोडियामा ३ हजार करोड देखाऊ, १ हजार बक्सिस थपेर दिन्छु

काठमाण्डौं, १३ कात्तिक । कम्बोडियाको दूरसञ्चारमा ३ हजार करोड रुपैयाँ राखेको भनेर आफ्नो नाम जोड्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हालसालै दिएको अभिव्यक्तिमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको कार्यक्रममा सोमबार बोल्दै अध्यक्ष ओलीले त्यसलाई प्रमाणित गरे १ हजार रुपैयाँ बक्सिस थपेर पूरै पैसा दिने बताए । ‘कम्बोडियामा ३ हजार करोड रुपैयाँ राखेको छु मैले भने धेरै नाफाको बिजनेस उहाँहरूलाई बताइदिन्छु– त्यो पत्ता लगाउनुस्, जानुस् । त्यसमा १ हजार थपिदिन्छु । त्यो पनि तपाईंकै नाममा गरिदिन्छु । १ हजार रुपैयाँ बक्सिस थपेर सबै पैसा दिन्छु,’ ओलीले भने ।

कालापानी, लिपुलेक भूभाग नेपालको नक्सामा समेटेपछि भारतीय टेलिभिजन जी न्यूजले कम्बोडियामा पैसा रहेको भन्दै जथाभावी बोलेको अध्यक्ष ओलीले दाबी गरे । तीन वर्षपहिला प्रचार भएको र टेलिभिजनले पनि गल्ती सच्याएको अवस्थामा अहिले फेरि अफवाह फैलाउने प्रयास भएको ओलीले बताए ।

आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकहाँ गएर प्रसाईंलाई पक्राउ गर्न भनेर बिन्ती बिसाएको समाचार पनि आएको भन्दै ओलीले आक्रोश पोखे । ‘प्रचण्डलाई गएर दुर्गा प्रसाईंलाई गिरफ्तार गर्दिनुपर्‍यो भनेर बिन्ती बिसाएँ अरे १ म भन्न चाहन्छु कमरेडहरूलाई– काटिएर जाओस् यो शिर बरू, त्यस्ताहरूसँग यो शिर झुक्दैन,’ उनले थपे, ‘भोकै मर्छ होला तर घाँस टिप्न बाघ जाँदैन ।’

प्रतिक्रियावादीहरूले झुटको सहारा लिएर प्रतिस्पर्धा गरिरहेको अध्यक्ष ओलीले बताए । सिमरा, घण्टाघर, बानेश्वरलगायत ठाउँमा घर–जग्गा छ भनेर पनि गलत प्रचार गरिएको उनको दाबी छ ।

ओलीले २०८४ सालको चुनावमा हरेक वडाबाट ५१ प्रतिशत मत ल्याएर चुनाव जित्नुपर्ने बताए । हरेक वडाबाट ५१ प्रतिशत मत आए चुनाव जितिने भएकाले त्यसैअनुसार अनुशासित, मर्यादित र संगठित भएर लाग्न कार्यकर्तालाई उनले निर्देशन दिए ।

उनले २०८४ सालको चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरे । ‘२०८४ को चुनावमा नेकपा एमालेले एकलौटी गर्छ । बुथ कब्जा गरेर, मान्छे मारेर, कुटेर होइन,’ अध्यक्ष ओलीले थपे, ‘जनताको अभिमत जितेर गर्छ । आफ्ना प्रतिनिधिलाई अत्यधिक मतले जिताउँछ । यो मिसन नै मिसन २०८४ हो ।’

उनले अहिले संयुक्त मोर्चाजस्तो सरकार रहेकाले लामो समय चल्न नसक्ने टिप्पणी गरे ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु