गैँडाकोट खेलकुद समितिद्वारा एनआरएनएमा निर्वाचित आफ्ना पूर्वपदाधिकारीलाई सम्मान

गैँडाकोट, १० असोज । गैँडाकोट खेलकुद समितिले गैर आवासिय नेपाली संघ एनआरएनएमा नवनिर्वाचित समितिका पूर्वपदाधिकारीलाई सम्मान गरेको छ । बिहीवार एक विशेष कार्यक्रम गरी गैर आवासिय नेपाली संघ एनआरएनएमा नवनिर्वाचित सहकोषाध्यक्ष तिलकप्रसाद गैरे र आइसिसि सदस्य दिनेश अधिकारीलाई गैँडाकोट खेलकुद समितिले बधाई तथा सम्मान गरेको हो ।

एनआरएनएमा नवनिर्वाचित सहकोषाध्यक्ष तिलकप्रसाद गैरे गैँडाकोट खेलकुद समितिमा संस्थापक सचिव हुनुहुन्थ्यो भने एनआरएनए आइसिसि सदस्य दिनेश अधिकारी पूर्वअध्यक्ष हुनुहुन्थ्यो ।
सम्मान कार्यक्रममा बोल्दै एनआरएनएका सहकोषाध्यक्ष एवं गैँडाकोट खेलकुद समितिका संस्थापक सचिव तिलकप्रसाद गैरेले खेलकुदको विकासका लागि आफुले पहिले गरेको संघर्ष सम्झदै सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

साथै उहाँले विदेशमा रहेका नेपालीले स्वदेशमा लगानी गर्ने र युवाशक्तिलाई देशमै अवसर सिर्जना गरेर यहि बस्ने वातावरण मिलाउन पनि सक्दो सहयोग गर्ने बताउनुभएको छ । विदेशमा रहेका नेपाली बालबालिकालाई यहाँको भाषा, संस्कार, संस्कृति सिकाई देशप्रतिको माया अनुभुति गराउने कार्यक्रम गर्ने बताउनुभएको छ । उहाँले गैँडाकोट खेलकुद समितिलाई ६० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै एनआरएनए आइसिसि सदस्य दिनेश अधिकारीले खेलकुद समितिमा रहँदा गरेका काम सम्झदै खेलको विकासका लागि, खेलकुद मैदानका लागि देखेको सपनाले केही रुप लिँदा खुसी लागेको बताउनुभयो । साथै उहाँले यहि निर्माणाधिन खेल मैदानका लागि स्नातक तह दोस्रो वर्षको परीक्षा समेत छोडेर लागिपरेको बताउनुभयो । कार्यक्रम गर्न स–साना काम गरेको इतिहास हराएर नजाने विश्वास व्यक्त गर्नुभयो । त्यो समयमा गरेको संघर्ष आज खेलकुदमा केही भएको बताउनुभयो ।

पूर्व सदस्य केशर थापाले पहिले र अहिलेमा धेरै परिवर्तन भएको देख्दा खुसी लागेको बताउँदै आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । पूर्व सदस्य जीवन बरुवालले भृकुटी कागज कारखानाको कालो धुलो बोकेर खेल्ने ठाउँ बनाउन संघर्ष गरेको बताउनुभयो । उहाँले यसलाई अझै अगाडी बढाउन आवश्यक रहेको पनि बताउनुभयो ।

गैँडाकोट ४ का वडा सदस्य हरि पौडेलले गैर आवासिय नेपाली संघ एनआरएनएमा नवनिर्वाचित गैँडाकोट खेलकुद समितिका पूर्व पदाधिकारीलाई बधाई ज्ञापन गर्दै शुभकामना दिनुभयो । गैँडाकोट खेलकुद समितिका पूर्वअध्यक्ष किसन गुरुङले पनि आफ्नो कार्यकालमा गरेका काम स्मरण गर्दै सबैको सहयोगले अहिलेको अवस्थामा आएको बताउनुभयो ।

यस्तै कार्यक्रम बोल्दै गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले साथीहरुको योगदान सम्पूर्णको सहयोग र सकारात्मक सोचले सपना पुरा गर्न टेवा पु¥याएको बताउनुभयो । पहिले समितिले उठाएको कुरा संघिय सरकार आएपछि कार्यान्वयमा आएको बताउँदै अहिले एक पालिका एक खेलमैदान हुनु राम्रो पक्ष भएको बताउनुभयो । गैँडाकोट खेलकुद समितिका उपाध्यक्ष रमेश तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सचिव प्रकाश पौडेलले सहजिकरण गर्नुभएको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु