आस्थाको आधारमा विभेद गरी मनमौजी गरिएको निर्णय नसचिएसम्म ताला खुल्दैन : खतिवडा

हेटौंडा, २७ असोज । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले शनिबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यलयमा तालाबन्दी गरेको छ।

नेपाल पत्रकार महासंघले सदस्यता सुद्धीकरण प्रक्रिया अन्तर्गत प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशन गरेको पत्रकारहरुको नामावली प्रति चौतारीले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो। नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी शुक्रबार बागमती प्रदेशका १३ जिल्लाका पत्रकारहरुको नामावली प्रकाशन गरेको थियो।

उक्त नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको तालाबन्दी पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रेस चौतारी बागमती प्रदेश कमिटिले जारी गरेको विज्ञप्तिमा महासंघको नेतृत्वमा रहेका र पदाधिकारीहरुले आफ्नो संगठन निकट निष्कृय रहेका पत्रकारहरुको सदस्यता नवीकरणको लागी सिफारिस गरेको तर प्रेस चौतारीमा आस्था राख्ने क्रियाशिल पत्रकारहरुको भने सदस्यता नवीकरण नगरेको दाबी गरेको छ।

सदस्यताको विषय टुंग्याउनु अघि संगठनहरुसँग बसेर गरेको सहमति महासंघ बागमती प्रदेशले लत्याएको चौतारीले आरोप लगाएको छ। चौतारी बागमती प्रदेश कमिटिका कार्यबाहक अध्यक्ष राधेश्याम खतिवडाले प्रेस चौतारीको सदस्य भएकै कारण क्रियाशिल पत्रकारलाई नयाँ सदस्यता नदिने र पुरानाको सदस्यता नवीकरण नगर्ने जस्तो काम महासंघ प्रदेश समितिले गरेको दाबी गरे।

उनले राजनीतिक आस्थाका आधारमा खल्तीका व्यक्तिलाई नयाँ सदस्यता दिने, निष्कृय पत्रकारहरुको नवीकरण जस्ता गतिविधि नसच्याए र महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने चेतावनी दिए।

–00–

Share:

सम्बन्धित समाचारहरु