भरतपुर, २७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आराम गर्न गृहजिल्ला चितवन आएका छन् । शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भरतपुरमा एउटा खानेपानी आयोजना उद्घाटन गर्ने बाहेक अन्य औपचारीक कार्यक्रम नरहेको बताए ।
‘एउटा खानेपानी आयोजना गर्ने र अलिअलि रेष्ट पनि गर्ने भनेर आएको छु । तपाईहरुले सहयोग गर्नुभयो भने एक दिन रेष्ट गर्छु’, उनले भने ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्की नियुक्त भएपछि गठबन्धन कायमै राख्ने भनि काठमाडौँमा सहमति गरेर प्रधानमन्त्री प्रचण्ड गृहजिल्ला चितवन आएका हुन् । गठबन्धन कायम राख्ने विषयमा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच लिखित सहमति भएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई माओवादीले विश्वासको मत दिने र गठबन्धन यथावत रुपमा कायम हुने प्रचण्डले बताए । सर्वपक्षीय सरकार बन्न सक्ने कुरा असम्भव नरहेको भन्दै उनले तत्काल भने त्यो सम्भावना नरहेको बताए ।
त्यस्तै उनले भरतपुर विमानस्थल विस्तारको लागि तत्काल केहि काम सुरु हुने बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम केहि प्राविधिक कारणले रोकिएको भन्दै उनले आगामी क्याबिनेट बैठकले त्यो विषय पनि टुंग्याउने बताए ।
अर्थतन्त्रमा देखिएको समस्यालाई सुधार गर्न छुट्टै संरचना खडा गर्ने उनले बताए । त्यसबारे क्याबिनेटले पनि छिट्टै आवश्यक निर्णय गर्ने बताए ।–00–