गीतकार तथा साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन

चितवन, २ भदौ। चर्चित गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि श्वासप्रश्वासलगायतका स्वास्थ्य समस्याबाट पीडित नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो।

तनहुँको बन्दिपुरमा जन्मिएका नन्दन केही समय गोरखाको आरुघाटमा व्यापार–व्यवसाय गरेका थिए। पछि २०१९ सालमा नारायणगढ बसोबास गर्दै राजधानी बाहिरै बसेर साहित्य र गीत–संगीतमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएका थिए।

नारायणी कला मन्दिरका पूर्व अध्यक्ष एवं सल्लाहकार रहेका नन्दनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सोही मन्दिरमा राखिने भएको छ। आजै देवघाटमा उनको अन्त्येष्टि गर्ने तयारी भएको परिवारले जनाएको छ।

गजलमा नै दोहोरी फर्काउने अद्वितीय क्षमता भएका नन्दनलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले “गोलसिमल” को संज्ञा दिएका थिए। उनका गीतमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतले संगीत भरेका थिए भने आशा भोस्ले, उदित नारायण, सुरेश वार्कर, नगत अजिज, प्रेमध्वज प्रधानसहित अनेक चर्चित कलाकारले स्वर दिएका थिए।

नन्दनका लेखाइबाट सजिएका कान्छी सन्तान, मोहनी, अवला, मानिस, कर्जा जस्ता चलचित्रका गीत निकै चर्चित बनेका थिए। उनका झटारो, अञ्जली, सपनीवाट ब्यूझेर, विपनीका पाइला, ऐना भित्रको आकाश जस्ता गीतिसंग्रह तथा सिद्धार्थको ग्रहत्याग लघुकाव्य र पत्रम् पुष्पम् कविता संग्रह प्रकाशित छन्।

साहित्यिक योगदानका लागि उनले छिन्नलता गीत पुरस्कार (२०५४), चिसाप प्रतिभा पुरस्कार (२०५२), चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार (२०६४), नारायणी प्रज्ञा पुरस्कार (२०७८), राष्ट्रिय स्रष्टा सम्मान (२०७७) लगायतका सम्मान प्राप्त गरेका छन्।

नन्दनका श्रीमती, तीन छोरा र तीन छोरी छन्। —-0—

Share:

सम्बन्धित समाचारहरु