चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिमको वडा नम्बर २७ मा पर्ने बेतरी खोलामा पुलको शिलान्यास गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बीच मेयर दाहालले २० मिटर लम्बाईमा निर्माण हुने पुलको शिलान्यास गर्नुभएको हो ।
पुल निर्माणपछि भरतपुर–२७ मा पर्ने तेलौली बजार, धरमपुर, बुद्धनगरमा जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । बाढीले भत्काएको पुल नबन्दा स्थानीय वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । ३ करोड ३४ लाख १३ हजार लागतमा पुल निर्माण हुन लागेको हो । मेयर दाहालले यसपाली सानाठुला ५० वटा पुलहरु बन्ने जानकारी दिनुभयो । “संघ र प्रदेश सरकारसँग थप पुलहरु निर्माण गर्न पहल भैरहेको छ”, उहाँले भन्नुभयो, “२० वटा ५० मिटर लामा ठुला पुलहरु बन्नेछन्, अन्य पुलहरुको पनि सर्भे भैरहेको छ ।”
मेयर दाहालले प्रचण्ड मार्ग अन्र्तगतको बेतरी खोला आसपासको सडक कालोपत्रे लगायतका रोकिन पुगेका कामलाई छिटै सुचारु गराउन पहल गर्ने बताउनुभयो । “मंगलपुरदेखि तेलौलीसम्म २२ किमिको प्रचण्ड मार्गलाई सौन्दर्यीकरण गर्ने काम पनि सुरु गरेका छौँ”, उहाँले भन्नुभयो,“काम ढिलो गर्ने निर्माण व्यवसायीलाई ताकेता गरिदिएका छौँ । ” मेयर दाहालले पश्चिम चितवनको मुख्य सडकका रुपमा अगाडी बढेको प्रचण्ड मार्गलाई छिटै पूर्णता दिइने बताउनुभयो ।
सडक जगतपुर–कसारचोक–शुक्रनगर–तेलौली हुदै वडा नम्बर २६ को भगडीसम्म विस्तार हुनेछ । पुल शिलन्यास कार्यक्रममा स्थानीयले पञ्चैबाजा बजाएर मेयर दाहाललाई स्वागत गरेका थिए । जिएमआर कन्स्ट्रक्सन नेपाल प्रालिले २ वर्षमा निर्माण सक्ने गरी बेतरी खोला पुल बनाउनेछ । यो पुल २ लेनको हुनेछ ।