हातपातको विरोधमा चितवनका चिकित्सकहरुको प्रशासन कार्यालय अगाडी प्रदर्शन

चितवन, ९ असोज ।  चिकित्सकमाथिको आक्रमणको घटना एकपछि अर्को हुन थालेपछि उनीहरुले सशक्त आन्दोलन थालेका छन् । केही समय अघि हटौँडामा भएको आक्रमणको घटना सेलाउन नपाउँदै पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि असोज ८ गते हातपात भएको छ ।

हातपातको विरोधमा चितवनका केही चिकित्सकले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । आफुहरु ध्यानाकर्षण सहितको दोषीमाथिको कारवाहीका लागि ज्ञापनपत्र वुझाउन गएको तर प्रशासनले वास्ता नगरेपछि सडकमै वसेर विरोध गरेको भरतपुर अस्पताल कर्मचारी यूनियनका अध्यक्षसमेत रहेका डा. दिपेन्द्र न्यौपानेले बताए । ‘विरामीलाई बचाउन भनेर वसेको डाक्टर आफै ज्यान जोखिममा राखेर वस्नु पर्दा त्यो भन्दा पीडादायी अरु के हुन सक्छ, डा. न्यौपानेले प्रश्न गरे,‘ अव न्याय माग्न कहाँ जानु ?’

सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएको र यस्तो अवस्थामा काम गर्न चिकित्सकहरुको मनोबल घटेकोले आफूहरु सशक्त विरोधका कार्यक्रम लिएर अघि वढेको डा. न्यौपानेले बताए । हेटौंडामा गत भदौ २७ गते दुइ जना डाक्टरमाथि कुटपीट भएको थियो ।

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले डाक्टरको सुरक्षा प्राथमिकताको विषय भएको बताए ।

भरतपुर अस्पतालका प्रवत्ता डा. गोविन्द कँडेलले आफू असुरक्षित भइ विरामीको सेवामा लाग्न नसकिने बताए ।–00–

Share:

सम्बन्धित समाचारहरु