आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाको राजधानी कोलम्बोमा कर्फ्यू ,राष्ट्रपति भवनमा आक्रमणको प्रयास

चैत १८ एजेन्सी ।चरम गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ ।

दक्षिण एसियाली मुलुक श्रीलंकाको कोलम्बोमा बिहीवार राति हिंसा फैलिएपछि कर्फ्युको आदेश भएको छ। कोलम्बो जिल्लाको केही भागमा प्रदर्शनकारी सडकमा हिंसात्मक गतिविधिमा उत्रिएपछि रातिदेखि कर्फ्यु लगाउन परेको कोलम्बो टाइम्सले जनाएको छ।कोलम्बो नर्थ, कोलम्बो साउथ, कोलम्बो सेन्ट्रल, नुगेगोडा, केल्यानिया र माउन्ट लाभिनिया क्षेत्रमा कर्फ्यू लगाइएको हो। प्रहरी अधिकारीलाई उदृत गर्द कोलम्बो टाइम्सले यी क्षेत्रका विद्यालय कहिलेबाट खुल्छन् भन्ने अझै यकिन नभइसकेको जनाएको छ।

श्रीलंकका राष्ट्रपति गोटाबाया राजपाक्षेको निवास जाने बाटोलाई प्रदर्शनकारीहरुले बन्द गराएका थिए। निवासमा आक्रमणको प्रयास भइरहेका बेला राष्ट्रपति निवासमा हुनुहुन्नथ्यो । प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बस र प्रहरीका गाडीमा आगो लगाइदिएका छन् भने वरपरका घरका पर्खाल समेत ढालिदिएका छन् । प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहराले तितरवितर पारेको थियो।

दुई करोड २० लाख जनसंख्या रहेको श्रीलंका स्वतन्त्र भएयताकै चरम आर्थिक संकटमा रहेको छ ।आन्दोलनकारीहरो मुख्य असन्तोष १६ घन्टा लामो समयसम्म बिजुली प्रवाह काटिनु, खाना पकाउने ग्यासको अभाव हुनु, पेट्रोल, डिजेल र मट्टीतेल उपलब्ध नहुनु, अत्यावश्यक खाद्यान्नको अभाव र चर्को मूल्यवृद्धिले गराएको छ। इन्धनको मूल्यवृद्धिले सबै क्षेत्रमा महँगी बढाएको छ।आन्दोलनकारीले राष्ट्रपतिको राजीनामालाई मुख्य माग बनाएका छन् ।

श्रीलंकाले बिहीवारबाट विद्युत आपूर्ति नियन्त्रण गर्न भन्दै सडक बत्ती बन्द गर्ने निर्णय गरेको थियो। बिजुली आपूर्तिकै कारण स्टक मार्केटमा कारोबार समेत रोकिएको थियो। दैनिक कम्तिमा १३ घन्टा लोडसेडिङको मार श्रीलंकाली नागरिकले खेपिरहेका छन्। सरकारसँग बिद्युत उत्पादनका लागि इन्धन खरिद गर्न पर्याप्त विदेशी मुद्रा नहुँदा यस्तो संकट निम्तिएको हो। श्रीलंकाली ऊर्जा मन्त्रीले देशका सबै क्षेत्रमा सडक बत्ती नबाल्न निर्देशन दिइएको जानकारी दिएका छन्। चर्को महँगी र अभाव भोगिरहेका जनतामाथि बिद्युत आपूर्ति अवरुद्ध हुँदा थप संकट परेको हो।

श्रीलंकामा राष्ट्रपति गोटावाया राजापाक्षेका दाइ चमल राजापाक्षे कृषिमन्त्री हुनुहुन्छ, भाइ महिन्दा राजापाक्षे प्रधानमन्त्री, अर्का भाइ बासिल राजापाक्षे वित्त विभागका प्रमुख र भतिज नमल खेलकुदमन्त्री हुनुहुन्छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु