काठमाडौं, २८ भदौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।
दाहसंस्कार गर्नुअघि उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो । नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली, दलका शिर्ष नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको बाक्लो उपस्थिति छ । नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ ।
सोमबार मध्यराति घरकै शौचालयमा बेहोस भेटिएएका नेम्वाङलाई लगत्तै शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । जहाँ उनलाई चिकित्सकहरुले मृत घोषण गरेका थिए । –00–


