भरतपुर, १७ भदौ । अस्पतालमा कार्यरत्त चिकित्सक,कर्मचारीलाई प्रयोग गर्न दिएको आवास अनाधिकृत व्यक्तिले प्रयोगगर्दै आएको गुनासो बढेपछि भरतपुर स्थित वीपी कोइराला मेमारियल क्यान्सर अस्पतालले यो विषयमा चासो देखाएको छ । क्यान्सर अस्पतालले अनधिकृत रुपमा प्रयोग भइरहेका आवास तत्काल खालीगर्न समेत निर्देशन दिएको छ । अस्पतालले आज एक सूचना जारी गरी आवास खाली गर्न भनेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले आज जारी गर्नुभएको सूचनामा आवास सेवा लिई पूर्ण रुपमा प्रयोग नगरेका, लामो समयदेखि बन्द नै रहेका र अस्पताल नजिक घर भई घरबाट आवाज जावत गरी अस्पतालको आवास बन्द राखेकालाई खाली गर्न भनिएको छ । यस्तै आफ्नो नाममा आवास लिई अन्य व्यक्तिलाई प्रयोग गर्न दिएको आवास पनि खाली गर्न भनिएको छ ।
भरतपुरमै घर भएर पनि आफ्नो घर भाडामा लगाई अस्पतालको आवासमा बस्नेहरु समेत रहेका छन् । पहुँचका आधारमा आवास सुविधा लिनेहरुको संख्यामा पनि उल्लेख्य छ । आवास अत्यावश्यक पर्ने कतिपयहरुले नपाएको गुनासो गर्ने गरेका छन् ।
अस्पतालको आवास के कति छन् र कोको बसेका छन् भन्ने बारेमा एकिन विवरण लिने प्रक्रियामा रहेको कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नियमसंगत प्रयोग नगरिएका आवासलाई फिर्ता लिएर आवश्यक पर्ने अन्य चिकित्सक कर्मचारीलाई उपलब्ध गराईने छ ।”–00–


