रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै सार्वजनिक गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता दियो

चितवन, २१ साउन । सामाजिक संजालमा चौतर्फी आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले चितवनमा संचालनमा ल्याएको एम्बुलेन्से पुरानो मेडिकल कलेज भरतपुरलाई फिर्ता दिएको छ । ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई टोलटोलमा गएर स्वास्थ्य उपचारका लागि पुरानो मेडिकलको नाममा रहेको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स प्रयोगमा ल्याएका थिए । थोत्रो भएर यतिकै थन्किएको एम्बुलेन्सलाई मर्मत गरेर निलो रंग लगाई मोबाइल क्लिनिक संचालनगर्ने भनेर आफु निर्वाचित भएको सयदिन पुगेको अवसरमा पाटी अध्यक्ष रवि लामिछानेले एम्बुलेन्स सार्वजनिक गरेका थिए ।

तर गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।

 

विवाद पछि राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको बताए । अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ ।

भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिकको रुपमा सन्चालमा ल्याएको घोषणा गरिएको थियो । मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको थियो ।

रास्वपाले रंग परिवर्तन गर्नुअघि एम्बुलेन्स सेतो रंगको थियो । रास्वपाको झण्डाको रंगसँग मिल्दोजुल्दो हुने गरी एम्बुलेन्समा निलो रंग लगाएर ‘मोबाइल क्लिनिक’ नाम दिइएको थियो । उक्त एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न भन्दै वर्कसपमा पठाइएको स्रोतले बताएको छ ।

रास्वपाले महिलाहरुका लागि निःशुल्क सन्चालनमा ल्याएको बस पनि अनुमति नलिई निलो रंगमा परिवर्तन गरेको पाइएको यातायात कार्यालय भरतपुरले जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु