फाल्गुन २७ काठमाडौं । सरकारले नेपालमा ५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुट रोगको परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । वर्षको एक पटक नियमित परीक्षण निशुल्क हुने भएको हो । मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय समेत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जानकारी गराएको हो ।
मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य मन्त्री खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरुले पनि सोही निर्णय कार्यान्वयन गर्ने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ । स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गरेका थिए । मन्त्रीलाई साथ दिंदै मुख्य सचिव शंकरदास बैरागीले पनि अंगदान गर्ने घोषणा गरेका छन् ।