सिमोन चौधरी । सेतोनेपाल
कालिका, २० असार । तीब्र रुपमा विनासहुँदै गइरहेको चिउरी संरक्षणका लागि चितवनको पहाडी क्षेत्रवाट बालकल्याण संस्थाले चिउरी जोगाउँ अभियान सुरु गरेको छ ।
चिउरीको रुखले अनेकन फाइदा दिएपनि त्यसको महत्व बुझ्न नसक्दा दिनप्रतिदिन लोपहुँदै गइरहेको छ । चितवनको इच्छाकामना, कालिका, भरतपुरका केही भागपर्ने पहाडी क्षेत्रमा चिउरीको रुख विनासहुँदै गएपनि यसको संरक्षणमा खासै चासो लिइएको पाइदैन । विगत १२ वर्षदेखि चितवनको पहाडी क्षेत्रमा कामगर्दै आएको बालकल्याण संस्थाका संस्थापक अध्यक्ष केशव खनालले पर्यावरणलाई सन्तुलन राख्न चिउरीको रुखले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । हाम्रो डाँडापाखामा रहेका चिउरीको रुखले विश्वभरीकै पर्यावरणमा फाइदा पुगिरहेको छ – उनले भने यसवाट अन्य मनग्ये फाइदालिने ठाउँपनि छन् ।
संस्थापक अध्यक्ष खनालका अनुसार चिउरीवाट जुस बनाउन सकिन्छ, यसको वियाबाट निस्किएको ध्यू अत्यन्तै लाभदायिक छ, यस्तै मौरीजन्य किराहरुलाई परागसेचनका लागि चिउरीको रुखले ठूलो अर्थ राख्छ । चिउरीको रुख विनासहुँदै गएपछि चितवनको पहाडीक्षेत्रका डाँडापाखालाई पुन हरियाली बनाउन संस्थाले चिउरीको विरुवा वितरणगर्ने अभियान सुरु गरेको छ । कालिका नगरपालिकाको वडा नं. १० स्थित नान्दरमा एक कार्यक्रमको आयोजनागरी ६ सय ३५ वटा चिउरीको विरुवा वितरण गरे । पहाडी क्षेत्रवाट यो अभियान सुरु भएपनि विस्तारै पहाडी क्षेत्रसँग जोडिएको तल्लो भेग सम्म पुग्ने योजना छ ।
कोलभञ्ज्याङ, थाप्राङ, साप्रेनी, जिङलाउ, छेरवाङ लगायतका ठाउँबाट स्थानीयहरु विरुवा लिन नान्दर पुगेका थिए । विरुवा हुर्कीएको तीनवर्षमा आर्थिक पुरस्कार दिने संस्थाले उद्घोष समेत गरेको छ । विरुवा हुर्काउन सफल सबैजनालाई नगद पुरस्कार दिने संस्थाका अध्यक्ष पुरुषोत्म खनालले जानकारी दिए । एउटा परिवारलाई चारवटा विरुवा प्रदान गरिएको छ । विरुवासँगै विरुवा रोप्न, रेखदेखगर्न प्रतिपरिवार पाँचसय रुपैयाँ नगद समेत दिएको छ । संस्थाले यस अघिपनि पहाडीक्षेत्रका केही ठाउँमा विरुवा वितरण गरिसकेको छ ।
चिउरी, चमेरो र चेपाङको सम्बन्ध अहिलेदेखि होइन, यिनीहरुको पुर्खाले चिउरीको रुखलाई खुब संरक्षण गरेर राखे । तर पछिल्लो समय यहाँका चेपाङहरु चिउरीलाई भन्दा बाहिरी चिजलाई प्राथमिकता दिन थालेपछि चिउरी लोपहुँदै गएको हो । छोरीलाई चिउरीको रुखनै दाइजोदिने प्रचलन थियो । तर अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई घाँसदिनमात्रै प्रयोग हुन थालेको छ । दाउरा बाल्न थालेपछि चिउरीको रुख विनास हुँदै गएको संरक्षणकर्मीहरु बताउँछन् । विगत लामो समयदेखि बालकल्याण संस्था पहाडी क्षेत्रमा क्रियाशील छ ।
२५ वर्षअगाडी जिल्ला प्रशासन कार्यालय भरतपुरमा दर्ता भएको संस्था अहिले पहाडी क्षेत्रमा कामगर्दै आएको छ । खानेपानी, पशुपालन, महिला समुह निर्माण गरी महिला शसक्तिकरणका लागि तालिम संचालन, निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमगर्दै आएको छ। यहाँका स्थानीयहरु परिश्रमी छन् । तर के उत्पादनगर्ने, कहाँ लगेर विक्रीगर्ने भन्ने विषयमा जानकार छैनन् । स्थानीय सरकारले यहाँ चेपाङहरुलाई उत्पादनगर्न सिकाउनुपर्ने संस्थापक अध्यक्ष खनालले बताए । बजार दिन हामी तयार छौं – उनले थपे । अर्गानिक उत्पादनमा जोड दिन सके यहाँका चेपाङहरुको दैनिकी फेरिने उनको दावी छ । पिडालु, कालोदाल, तरुल, मह, अदुवा, लसुन, बेसार यहाँ राम्रो उत्पादन हुने भन्दै संस्थाका संस्थापक अध्यक्ष खनालले चेपाङको छुट्टै बजार बनाउन सके यिनीहरुको उत्पादनले समेत राम्रो बजार लिने बताए ।
चिउरीको रुख संरक्षणसँगै बालकल्याण संस्थाले अर्गानिक खेतीगर्न यहाँका समुदायलाई सहयोगगर्ने संस्थाका अध्यक्ष पुरुषोत्म खनालले जानकारी दिए । अर्गानिक खेतीका लागि कृषि हाम्रो प्राथमिकतामा छ त्यो अभियानमा छिट्टै लाग्छौं अध्यक्ष खनालले भने यो सुरुवाती समय हो ।
फोटोः सन्तकुमार चौधरी । सेतोनेपाल












