कालिका नगरपालिका क्षेत्रभित्रका अधिकाङ्स सामुदायिक विद्यालयहरुमा दिवा खाजा बन्द, स्कुलले उद्यारो रकम कहिले तिर्ने ?

सन्तकुमार चौधरी- 
कालिका, २० असार । कालिका नगरपालिका क्षेत्रभित्रका अधिकाङ्स सामुदायिक विद्यालयहरुमा दिवा खाजा बन्द भएको छ । विद्यार्थीलाई खाजा खुवाएको भुक्तानी रकम पाउन छाडेपछि नगरक्षेत्रभित्रका सबै विद्यालयले दिवा खाजा बन्द गरेका हुन ।
नगरक्षेत्रभित्रका धेरैजसो विद्यालयले असार दोश्रो हप्ता सम्म विद्यार्थीलाई दिवा खाजा दिए ।

यो बीचमा नगरपालिकामा पटक पटक पुग्दापनि रकम निकासि नभएपछि दिवा खाजानै बन्दगर्नुपरेको यहाँका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु बताउँछन् । नगरक्षेत्रभित्रका सबै विद्यालयहरुले दशंै यता दिवाखाजाका लागि पाउनुपर्ने भुक्तानी रकम पाएका छैनन् । नजिकैको किरानापसल देखि विद्यालय क्षेत्रभित्रका क्यान्टिनहरुलाई लाखौं रुपैयाँ रकम भुक्तानीगर्न बाँकी छ ।

नगरपालिकाको बन्दैगरेको नयाँ भवनसँगै रहेको माध्यमिक विद्यालय रेडक्रसग्रामले जेठ १४ गतेदेखिनै दिवा खाजा बन्द गरेको छ । विद्यार्थीलाई दिवा खाजा दिएको मध्ये ३ लाख ७ हजार रुपैयाँ रकम क्यान्टिनलाई तिर्न बाँकी रहेको विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछानेले जानकारी दिए । यो विषयमा नगरपालिकामा विल सहित भुक्तानीका लागि माग गरिएको छ तर पैसा पाइएको छैन, विद्यालयका प्रधानाध्यापक लामिछानेले गुनासो गरे ।

माध्यमिक विद्यालय रेडक्रसग्रामका प्रधानाध्यापक नन्दलाल लामिछाने
माध्यमिक विद्यालय रेडक्रसग्रामका प्रधानाध्यापक नन्दलाल लामिछाने

कालिका वडा नं. ३ मा रहेको श्री जनहित राष्ट्रिय आधारभूत विद्यालयले असार १७ गते विद्यार्थीहरुलाई अन्तिम पटक खाजा दियो । व्यवस्थापन समितिको बैठकनै बसेर दिवा खाजा तत्कालका लागि बन्दगर्ने निर्णयगर्दै अन्तिम पटक असार १७ गते खाजा दिएको विद्यालयका हेडसर भरतराज रेग्मीले जानकारी दिए । क्यान्टिनमा भएको मौजुदा अन्नपात सकिएपछि तत्कालका लागि दिवा खाजा बन्दगर्नुपरेको हेडसर रेग्मीले बताए । रकम निकासी नभएकाले थप समस्या नहोस भनेर विद्यालय व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । यो बीचमा रकम निकासा भयो भने हाजिरीको आधारमा विद्यार्थीले पाउनुपर्ने खाजा बराबरको रकमनै दिने निर्णय भएको छ ।

श्री जनहित राष्ट्रिय आधारभूत विद्यालय वडा नं. ३ का हेडसर भरतराज रेग्मी
श्री जनहित राष्ट्रिय आधारभूत विद्यालय वडा नं. ३ का हेडसर भरतराज रेग्मी

 

कालिका नगरक्षेत्रभित्र ३५ वटा सामुदायिक विद्यालयहरु छन् । यहाँका सबैजसो विद्यालयहरुमा दिवा खाजा बन्द भएको छ । यहाँका धेरै विद्यालयहरुले भुक्तानी रकम समयमा नपाउँदा आर्थिक समस्या त भागेकै छन् त्यो भन्दाबढी विद्यार्थी घट्ने चिन्ता छ । दिवा खाजा कार्यक्रमले नगरक्षेत्रभित्रका स्कुलमा विद्यार्थीको संख्या निकै बढेको शिक्षकहरुको बुझाईछ । ग्रामिणभेग देखि पहाडीक्षेत्रका स्कुलहरुमा दिवा खाजाकै कारण स्कुल आउने विद्यार्थीको दर निकै बढेको कालिका वडा नं. ११ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय दैतेसका हेडसर खड्क चेपाङले बताए । यो स्कुलले पनि जेनतेन गरेर खाजा खुवाउँदै आएको थियो । तर अब धान्न सकिने अवस्था छैन हेडसर चेपाङले भने अब हामीपनि बन्दगर्दैछौं ।

राष्ट्रिय आधारभूत विद्यालय दैतेसका हेडसर खड्क चेपाङ
राष्ट्रिय आधारभूत विद्यालय दैतेसका हेडसर खड्क चेपाङ

नगरक्षेत्रभित्रका सबै विद्यालयले दिवा खाजाका लागि पाउनुपर्ने भुक्तानी रकमका लागि कालिका नगरपालिकामा विल पेस गरेका छन् । कालिका नगरपालिकाले पनि विद्यालयले पाउनुपर्ने रकम निकासीका लागि आवश्यक कागजपत्र अर्थमन्त्रालयमा पठाएको छ । मन्त्रालयले अहिले सम्म कागजपत्रको जवाफ पठाएको छैन । रकम निकासीका लागि नगरपालिकाले पनि पटक -पटक ताकेता गरिरहेको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए ।

बालबालिकाको बृद्धि विकास र सिकाइका लागि पौष्टिक खाना तथा खाना निर्णायक हुने विभिन्न अध्ययनले पुष्टि गरे अनुसार नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ देखि देशभरका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनगर्ने प्रारम्भिक बाल विकास देखि पाँच कक्षासम्मका सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्थापनगर्न बजेट विनियोजनगर्न सुरु गरेको हो ।

पोषणयुक्त दिवा खाजाबाट बालबालिकाको शारीरिक र मानसिक विकास भइ मानवपुँजी विकासमा योगदान पुग्छ भन्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम हो ।

नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको निःशुल्क र अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि बनेको निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ एवम् नियमावली २०७७ ले दिवा खाजाको प्रावधानलाई कानूनी रुपमा स्थापित गरेको छ । यो विषयलाई विद्यालय क्षेत्र विकास कार्यक्रम, पन्ध्रौं योजनाको आधारपत्र, एकीकृत स्वास्थ्य रणनीति जस्ता नेपालका शिक्षा र स्वास्थ्य सम्बन्धी नीतिगत दस्तावेजहरुले पनि उच्च महत्व दिएका थिए ।

आधारभूत विद्यालय गड्यौलीमा दिवा खाजा खाँदै विद्यार्थीहरु । 

 

दिवाखाजा बन्द भएपछि आफैले घरवाट ल्याएको खाजा खाँदै आधारभूत विद्यालय बनकट्टाका साना विद्यार्थीहरु ।
दिवाखाजा बन्द भएपछि आफैले घरवाट ल्याएको खाजा खाँदै आधारभूत विद्यालय बनकट्टाका साना विद्यार्थीहरु ।

((००))

Share:

सम्बन्धित समाचारहरु