कालिका, १४ असार । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा कालिका नगरपालिकाको थाङखोला सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
सन्ततिका लागि सोचौं, सम्बृद्धि र हरियालीका लागि रुख रौपौं भन्ने नारा सहित डिभिजन वन कार्यालय चितवनले वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रममा कालिका नगरपालिकाका मेयर, उपमेयर समेत सहभागी भए । कार्यक्रमलाई संवोधनगर्दे कालिका नगरपालिकाका मेयर रेग्मीले रोपिएको विरुवा जोगाउन समस्या देखिएको बताउनुभयो । तपाई हामीले रोपेको विरुवाको संरक्षणगर्ने दायित्वपनि तपाई हाम्रै हो उहाँले भन्नुभयो – थोरै रोपौं तर त्यसलाई संरक्षण गरौं ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर रेग्मीले वन,वातावरण संरक्षणका लागि नगरपालिकाले आगामी दिनमा डिभिजन वन कार्यालयसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । विकास निर्माणको काममा डिभिजन वन कार्यालयलेगर्दै आएको सहकार्यको प्रशंसागर्दै मेयर रेग्मीले वन र वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख लोकनाथ नेपालले गतवर्षपनि यो सामुदायिक वनमा वृक्षारोपण गरिएको जानकारी दिनुभयो ।
१६ सय विरुवा रोपिएकोमा १२ सय ५० वटा विरुवा हुर्कीएको उहाँले बताउनुभयो । सामुदायिक वनको सक्रियतालाई देखेर यो ठाउँमा बृक्षारोपणगर्ने निर्णय गरिएको उहाँको भनाई छ । कालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, डिभिजन वन कार्यालयका वालकृष्ण खनाल, नारायण प्रसाद लम्साल, निर्मला निरौला, सविता तिमिल्सिना लगायतको सहभागी थियो । थाङखोला सामुदायिक वन उपभोक्ता समुहको कार्यवाहक अध्यक्ष कल्पना आचार्यको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।
डिभिजन वन कार्यालयका वालकृष्ण खनालका अनुसार १ सय १० वटा विरुवा आज रोपिएको छ । सामुदायिक वनको यो क्षेत्रमा ५ हेक्टर क्षेत्रफलमा २ हजार विरुवा रोप्ने लक्ष्य छ । टिक, बडर, तेजपात, गुलाफ जामुन लगायतका विरुवा रोपिएको छ । काठको विकल्पको रुपमा टिकलाई विशेष जोड दिइएको छ ।
सिसौंको रुख जस्तै २५ देखि ३० वर्षमा तयारहुने हुँदा टिकको विरुवालाई विशेष प्राथमिकता दिएर रोप्न लागिएको खनालले जानकारी दिनुभयो । यो सँगै आजै कालिकाको वडा नं.१ मा रहेको गडुवा चिल्ड्रेनपार्कमा पनि वृक्षारोपण गरिएको छ । खगेरी सव वन डिभिजन कार्यालको अगुवाईमा वृक्षारोपण गरिएको हो । कपुर, धुपी, बेल, निम लगायतका विरुवा रोपिएको खगेरी सव डिभिजन वन कार्यालयले जनाएको छ ।









–00–

