भारतीय तेल कम्पनीको स्पष्टोक्ति: पर्याप्त छ पेट्रोलियम भण्डार

काठमाडौं। भारतीय तेल कम्पनीहरूले पेट्रोलियम पदार्थको अभावबारे फैलिएका हल्लालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।

भारतको सरकारी स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेशन लिमिटेडले बुधबार जारी गरेको विज्ञप्तिमा देशभर पेट्रोल र डिजेलको कुनै कमी नरहेको स्पष्ट पारेको छ। कम्पनीले सामाजिक सञ्जालमा फैलिरहेका अभावसम्बन्धी अफवाहहरूमा विश्वास नगर्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ कि यस्ता हल्लाले अनावश्यक चिन्ता सिर्जना गर्नुका साथै आपूर्ति प्रणालीमा अवरोध ल्याउन सक्छ। कम्पनीका अनुसार सबै आउटलेटहरूमा पर्याप्त इन्धन भण्डारण रहेको छ र आपूर्ति नियमित रूपमा भइरहेको छ। साथै, नागरिकलाई अतालिँदै अनावश्यक रूपमा इन्धन खरिद नगर्न र प्रमाणित सूचनामात्र विश्वास गर्न अनुरोध गरिएको छ।

यसैबीच, हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेडले पनि छुट्टै विज्ञप्ति जारी गर्दै देशभर पेट्रोल, डिजेल र एलपीजीको कुनै अभाव नभएको जनाएको छ। कम्पनीले इन्धनको आपूर्ति सामान्य रहेको र पर्याप्त भण्डार उपलब्ध रहेको जानकारी दिएको छ।

तेल कम्पनीहरूले सर्वसाधारणलाई अफवाहबाट सचेत रहन र आवश्यक परिमाणमा मात्र इन्धन खरिद गर्न पुनः अपिल गरेका छन्।

Share:

सम्बन्धित समाचारहरु