बझाङ दुर्घटना : मन्त्री सिंहकी पत्नी र भाउजूको निधन, तीनजनालाई कोहलपुर लगियो

धनगढी, ५ असार । बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहका पत्नी र उनकी भाउजुको मृत्यु भएको छ।

मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६० वर्षीया जयादेवी सिंह प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको केदारस्युँ गाउँपालिका–१ का अध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए। ‘दुई जनाको मृत्यु भएको चिकित्सकले घोषणा गरेका छन्, मन्त्रीज्यूसहित तीनजनालाई हेलिकोप्टरमार्फत भर्खरै लगिएको छ,’ स्वास्थ्य केन्द्रमा रहेका अध्यक्ष भण्डारीले भने।

गम्भीर घाइते कानुनमन्त्री सिंह, चालक ३५ वर्षीय धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाईसहित तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको छ। मंगलबार दिउँसो बझाङको केदारस्यु गाउँपालिका- १ झारछडा स्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो।

डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु.प. प्र. ०१००१ झ ४८० नम्बरको गाडीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित ५ जना सवार थिए। गाडी सडकबाट करिब ५० मिटर तल कालङ्गा नदी किनारमा खसेर दुर्घटना भएको हो।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु