चैत १ काठमाण्डौ । मिर्गौला प्रत्यारोपण सम्भव भए पनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानुनी व्यवस्था आवश्यक रहेको भन्दै बहस सुरु भएको छ ।
नेपालको कानुनमा आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान छ । उक्त प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार सहज हुने सरोकारवाला बताउँछन् ।मिर्गौला रोगीको उपचार स्वदेशमै सम्भव भए पनि दाता नहुँदा धेरैले प्रत्यारोपणको अभावमा ज्यान गुमाउने गरेका छन् । आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने कानुन संशोधन गरेमा भने दाताको संख्या उल्लेख्य हुने र मिर्गौला रोगीका लागि बरदान साबित हुने सरोकारवालाको भनाइ छ ।विश्व मिर्गौला दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले यस्तो कानुन संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए । आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा मिर्गौला रोगीको उपचार अझै सहज हुन उनको भनाइ छ ।
डा।दिव्या सिंह शाहले मिर्गौला दाता नहुँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता कायमै रहेको बताइन् ।उच्च रक्तचाप, मधुमेहजस्ता रोगका साथै तनावग्रस्त जीवनशैली र अस्वस्थकर खानपिनले मिर्गौला बचाउनु चुनौतीपूर्ण बनेको भन्दै चिकित्सकहरुले यसतर्फ सतर्क रहन सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र बर्सेनि ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । हालसम्म २५ सय जनामा मिर्गौला प्रत्यारोपण भइसकेको र ७ हजार जना डायलासिस गराएर प्रत्यारोपणको पर्खाइमा रहेको जनाइएको छ ।