सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसद्मा प्रस्तुत हुँदै

काठमाडौं, २० वैशाख ।  सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमार्फत प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरिसकेको छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई दिउँसो २ बजेर ४५ मिनेटभित्र निर्धारित पोशाकमा आशनग्रहण गर्न अनुरोध गरिसकेका छन्।

यसअघि नै सत्ता साझेदार दलहरूबीच अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल सम्पन्न भइसकेको छ। नयाँ नीति तथा कार्यक्रम युवामा आशा जगाउने, उद्यमशीलता प्रवर्द्धन गर्ने, सीप विकास, स्टार्टअप र व्यावसायिक योजनालाई प्राथमिकता दिने, साथै सरकारी खर्च वृद्धि र सुशासन कायम गर्ने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

संघीय संसद् सचिवालयका अनुसार वैशाख २२ गतेदेखि २८ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यतालिका तय गरिएको छ। त्यसपछि वैशाख ३० गतेबाट विनियोजन विधेयकमाथि सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रारम्भिक (प्रि-बजेट) छलफल सुरु हुनेछ।

संविधानअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीमार्फत प्रस्तुत गरिनेछ।–00–

Share:

सम्बन्धित समाचारहरु