कालिका नगरपालिकाले एकवर्षको अवधिमा १५ वटा कल्वर्ट निर्माण गर्यो

सेतो नेपाल-
कालिका, ३२ जेठ । कालिका नगरपालिकाको वडा नं. ८ स्थित देवीटार स्कुलदेखि अजिङ्गरे भञ्ज्याङजाने बाटोको जोगिनी खोलामा पक्की कल्वर्ट निर्माणहुँदैछ ।  २५ लाख रुपैयाँको लागतमा निर्माणहुन लागेको कल्वर्टको बुधवार ढलानगर्ने कार्य सकिएको छ ।

ढलानसँगै पुलको दुवैतर्फपुर्ने देखि जालीढुंगा हाल्ने काम जारी छ ।

डिभाइन इन्जिनियरिङ कन्सल्टेन्सीले निर्माणको जिम्मा लिएको छ । कल्वर्ट निर्माणले स्थानीयहरु उत्साहित भएको स्थानीय मंगल चेपाङले बताए । वर्षातको समयमा जोगिनी खोलामा आउने भलबाढीले निकै दुख दिनेगरेको उनले बताए । स्कुल जानआउन समेत समस्या झेलेका बालबालिकाहरुलाई राहत पुग्ने स्थानीयको विश्वास छ ।

देवीटारको स्कुलदेखि अजिंगरे भञ्ज्याङहुँदै खैरहनी नगरपालिकालाई समेत यो बाटोले जोड्ने कामगर्छ । पछिल्लो स्थानीय जनप्रतिनिधिहरु निर्वाचित भएर आएको एकवर्षको अवधिमा कालिका नगरपालिका क्षेत्रका विभिन्न खोलाहरुमा १५ वटा कल्वर्ट निर्माणको काम सम्पन्नहुँदैछ ।

नगर प्रमुख विनोद रेग्मीका अनुसार अघिल्लो मेयर(खुमनारायण श्रेष्ठ)को पालामा ठेक्का लागेको ११ वटा कल्वर्ट मध्ये ७ वटाको निर्माण कार्य सकिएको छ । अन्य चारवटा निर्माणको अन्तिम चरणमा छ । यस्तै विनोद रेग्मीले नगरपालिकाको जिम्मेवारी लिएपछि थप चारवटा कल्वर्टको निर्माण कार्य अन्तिम चरणमा पुगेकोछ ।

टेन्डर प्रकृयामा मार्फत निर्माणको काम भइरहेको नगर प्रमुख रेग्मीले बताए । असार महिनाभित्रै निर्माणको काम सकिनेछ । अझै पहाडी क्षेत्रका खोला खोल्सीहरुमा थप कल्वर्ट आवश्यक भएकाले यो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पक्की कल्वर्ट निर्माणको योजनालाई प्राथमिकतामा राखिने नगर प्रमुख रेग्मीले जानकारी दिए ।

 

–00–

 

 

Share:

सम्बन्धित समाचारहरु