गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको छानबिन हुन्छ,ठूला भ्रष्टाचारका फाइल खोल्छौं : प्रचण्ड

काठमाण्डौ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

मङ्गलवार नेकपा (माओवादी केन्द्र)  को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरूको अुनसन्धान गरी निचोडमा पुग्ने बताउनुभयो ।

प्रधानमन्त्रीले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउनुपर्ने र यसबारेका शङ्काहरूको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले सदनमा पनि भनेको छु, अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरूको खोजी गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली नागरिकको मनमा यसबारेमा शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्यरतथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास नागरिकमा जगाउनु छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा बिजुलीको बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारत भ्रमणमा सीमा विवादको समाधान गर्न उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।–00–

फाइल तस्विर-

Share:

सम्बन्धित समाचारहरु