रेशम सापकोटा – सेतो नेपाल
चितवन, १ भाद्र । देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्च, भरतपुर चितवनले तीज पर्वलाई लक्षित गर्दै आफ्ना सदस्य तथा सदस्य परिवारका लागि दरखानी कार्यक्रम आज सम्पन्न गरेको छ।
भरतपुर महानगरपालिका–८, वर पिपल पार्टी प्यालेस, गौरीगञ्जमा सम्पन्न उक्त कार्यक्रममा १२३ जनाको उपस्थिति रहेको थियो भने तीन जना नयाँ सदस्यहरूले पनि सो अवसरमा मञ्चको सदस्यता ग्रहण गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य श्री बाबुराम सुवेदी, विशिष्ट अतिथि माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा, संस्थापक अध्यक्ष शशीधर लामिछाने, सल्लाहकार संयोजक कृष्ण काफ्ले, लेखा समितिका संयोजक लोकराज सापकोटा, संयोजक बिदुर रानाभाट लगायतका अतिथिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा सम्पर्क मञ्चका कार्यसमिति, सल्लाहकार समिति, लेखा समिति, सदस्यज्यूहरू तथा सदस्य परिवारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन सीता काफ्लेले गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रमकी सदस्य लीला पौडेलले प्रस्तुत गर्नुभयो। उहाँले सम्पर्क मञ्चले सदस्यहरूको भेटघाट, आपसी सद्भाव र संस्कृतिको संरक्षणमा जोड दिँदै आएको स्मरण गर्दै उपस्थित सबैमा हार्दिक स्वागत व्यक्त गर्नुभयो।
प्रमुख अतिथि सुवेदीले सम्पर्क मञ्चको निरन्तर सक्रियतालाई सराहना गर्दै यसले समुदायबीचको आत्मीय सम्बन्धलाई अझ सुदृढ पार्न ठूलो योगदान पुर्याइरहेको धारणा राख्नुभयो।
विशिष्ट अतिथि नारायण सापकोटाले प्रज्ञा प्रतिष्ठानको तर्फबाट मन्तव्य प्रस्तुत गर्दै धर्म, संस्कृति र परम्परागत मूल्यबोधलाई जोगाउँदै लैजान सम्पर्क मञ्चले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। विशेषगरी महिला सहभागितामा आधारित धार्मिक र सांस्कृतिक कार्यक्रमहरूले हाम्रो समाजको पहिचान सुरक्षित राख्ने ऐतिहासिक महत्व बोकेको उहाँको भनाइ थियो।

कार्यक्रम संयोजक बिदुर रानाभाटले सम्पर्क मञ्चले हरेक वर्ष यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, समुदायका लागि सामाजिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अझ सक्रिय रहने धारणा राख्नु भयो ।
सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई झनै रौनकपूर्ण बनाएका थिए। महिलादिदीबहिनीहरूले विभिन्न तीजका गीत तथा नृत्य प्रस्तुत गर्नुभयो भने कोहीले एकल गीतमार्फत, कोहीले सामूहिक नृत्यमार्फत सम्पूर्ण वातावरणलाई उल्लासमय बनाउनुभयो।
सहभागी महिलाहरूले गाउँमै आफ्नै बुवाआमा, दाजुभाइसँग बसेको जस्तो आत्मीय अनुभूति भएको भन्दै सम्पर्क मञ्चलाई विशेष धन्यवाद प्रकट गर्नुभयो।
लामो समयदेखि छरिएर रहेका गाउँका दाजुभाइ दिदीबहिनीहरू एउटै स्थानमा भेला हुँदा कार्यक्रम आत्मीयता, रमाइलोपन र भावनाले ओतप्रोत बनेको देखिन्थ्यो। कोही सहभागीहरू हाँसो र ठट्टामा रमाइरहेका थिए भने, कोही दिदीबहिनीहरू हर्षका आँसु झार्दै आफ्नो मनको गहिरो भाव व्यक्त गरिरहेका थिए।
कार्यक्रम सफल बनाउन र खर्च व्यवस्थापन सहज बनाउनका लागि मञ्चका केही सदस्यहरूले स्वैक्षिक रूपमा संस्थालाई आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। कार्यक्रममा उपस्थित सदस्यहरूले रु ५०० तिरेर सहभागिता जनाएका थिए, जसमा दर खाने, नाच्ने, गाउने तथा सम्पूर्ण खानपान व्यवस्थापन समेटिएको थियो।
अन्त्यमा, सम्पर्क मञ्चका अध्यक्ष पूर्णप्रसाद पोखरेलले सम्पूर्ण अतिथि, समितिहरू, सदस्य तथा सहभागीहरूलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत यस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने आश्वासन दिनुभयो।
उहाँले मञ्च स्थापनाको उद्देश्य सदस्यहरूबीच आत्मीय सम्बन्ध बलियो बनाउनु र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु रहेको स्मरण गर्दै भन्नुभयो, ‘‘गाउँमा जन्मेका, हुर्केका तर विभिन्न कारणले भरतपुर र वरिपरि केन्द्रित भएका सदस्यहरूलाई एउटै ठाउँमा भेला गराउन पाउनु नै मञ्चको ठूलो उपलब्धि हो।’’
उत्साह, आत्मीयता र सांस्कृतिक भावनाले परिपूर्ण दरखानी कार्यक्रम स्मरणीय बनेको निष्कर्ष निकाल्दै कार्यक्रम सम्पन्न भएको थियो ।
—00–


