चितवन,३१ साउन । भगवान् श्रीकृष्णको जन्मोत्सव ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभरि भक्तिभावपूर्वक मनाइँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन भक्तजनले देशभरका कृष्ण मन्दिरमा पूजाआराधना, भजन–कीर्तन, प्रवचन लगायतका धार्मिक कार्यक्रम गर्दै व्रत बसेर जाग्राम गर्ने परम्परा रहेको छ ।
धर्म र सत्यको रक्षा तथा अन्याय र अत्याचारको अन्त्यका लागि भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्ण अवतरित भएको पौराणिक मान्यता छ । महाभारतकालीन कुरुक्षेत्र युद्धमा अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवद्गीता’का रूपमा विश्वभर सम्मानित छ, जुन धेरै भाषामा अनुवाद भएको धार्मिक ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै अद्भुत लीलाका कारण प्रसिद्ध रहेका श्रीकृष्णले कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका वर्णन पौराणिक ग्रन्थमा पाइन्छ ।
यस अवसरमा काठमाडौंको पाटन मङ्गलबजारस्थित ऐतिहासिक कृष्ण मन्दिरमा भव्य मेला लाग्ने गर्छ । त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन)को मन्दिर तथा राजधानीका अन्य स्थानमा समेत आज भक्तजनको ठूलो भीड देखिन्छ ।
जन्माष्टमीको उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक सङ्घ–संस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा पनि आयोजना गर्दै आएका छन् । –00–


