केही दिनदेखि गाईभैँसीमा लम्पी स्किनको संक्रमण फैलिदो, चितवनमा २ हजारबढी गाईभैँसीमा संक्रमण देखियो

चितवन, १३ जेठ । चितवनमा पालिएका दुई हजार ६७४ गाईभैँसीमा लम्पी स्किनको समस्या देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पी स्किनको समस्या देखिएको हो ।

कार्यालयका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यका अनुसार जिल्लामा सबैभन्दा बढी प्रभावित राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका किसान छन् । राप्ती नगरपालिकामा एक हजार ३७५ र इच्छाकामना गाउँपालिकामा ७८५ गाईभैँसी यस रोगबाट प्रभावित भएका उनले जानकारी दिए ।

यस्तै, माडी नगरपालिकामा १८३, खैरहनी नगरपालिकामा ११०, कालिका नगरपालिकामा १००, रत्ननगर नगरपालिकामा ४५ र भरतपुर महानगरपालिकामा ७६ गाईभैँसी प्रभावित भएका छन् । यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुने डा। आचार्यले बताए । गर्मीयाममा लामखुट्टे, झिँगालगायत कारण यो रोगको प्रकोप देखिने गरेको उनको भनाइ छ ।

डा. आचार्यका अनुसार विगत केही दिनदेखि गाईभैँसीमा लम्पी स्किनको संक्रमण फैलिएको छ । “गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ,” उनले भने ।

यो रोग विशेष गरी संक्रमित लामखुट्टे, झिँगालगायत टोकाइबाट लाग्ने गर्छ । संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको भेटेरिनरी अस्पतालले जनाएको छ ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु