काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका सर्वोच्च कमान्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
नेपाली राजनीतिमा त्याग र साहसको प्रतिकका रूपमा परिचित सिंहले २०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्ने अवसर अस्वीकार गरी आफ्ना सहकर्मी कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए। यसै कारण उनी त्यागका अद्वितीय उदाहरणका रूपमा स्मरण गरिन्छन्।
वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौं क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका सिंहको निधन २०५४ असोज २ गते भएको हो। उनी वि.सं. १९९७ मा स्थापित नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद् का सदस्य भएर राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भएका थिए।
जेल फोरेर भारत पुगेर बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विस्तार गरेका सिंहले वि.सं. २००३ मा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको विकासमा जीवनभर योगदान दिए। २००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्षमा अगुवाइ गर्दै प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेले। वि.सं. २०१५ सालको पहिलो निर्वाचनपछि मन्त्री बनेका उनी २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष जेलमा रहे। २०३३ सालमा बिपीसँगै राष्ट्रीय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएका सिंह २०३६ सालको विद्यार्थी आन्दोलन, जनमत सङ्ग्रह, २०४२ सालको सत्याग्रह तथा २०४६ सालको जनआन्दोलनमा अग्रणी नेता बने।
आज स्मृति दिवसका अवसरमा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले कार्यक्रम आयोजना गरेका छन्। बिहान ७ः४५ बजे शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ।–00–


