काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड भेट्न मंगलबार बिहान सभामुख घिमिरे बालुवाटार गएका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको सभामुखलाई जानकारी गराएका थिए।
सभामुखले जेठ ५ नीति तथा कार्यक्रम ल्याउन आफूहरू तयारी अवस्थामै रहेको जवाफ दिएका थिए। सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले संसद्मा विचाराधिन विधेयक,बजेट र नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल भएको जानकारी दिए।
आजबाट संसदीय समितिहरूको बैठक सुरू भएकाले संसदले लय समातेको भन्दै प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधिन विधेयकहरू टुंगो लगाउन सहज हुने बताएका थिए।
आजदेखि प्रतिनिधिसभाअन्तरगतका संसदीय समितिहरू क्रियाशील भएका छन्। आज मात्रै १० वटा समिति बैठक बसेका हुन्। –00–


