काठमाडौँ, १४ बैशाख । हत्या मुद्दाका अभियुक्त एमाले सांसद लक्ष्मी महतो कोइरीले संघीय संसद् सचिवालयलाई दुईवटा पत्र लेखेर आफू बिरामी भएको जानकारी गराएका छन् । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या मुद्दामा उच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिँदा पनि सांसद बनिरहेका कोइरीले संघीय संसद् सचिवालयलाई दुई वटा पत्र लेखेर आफू बिरामी परेको जानकारी गराएका हुन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एमाले सांसद कोइरीले अनुपस्थितिको जानकारी पत्रमार्फत गराएको बताए । सभामुख घिमिरेले सांसद कोइरी अहिले निलम्बनको अवस्थामा नरहेको पनि बताए । आधिकारिक निकाय नेपाल प्रहरीबाट फरार रहेको पत्र प्राप्त भइनसकेकाले सांसद कोइरीलाई फरार रहेको भन्न नमिल्ने सभामुख घिमिरेको भनाइ छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले एमाले सांसद कोइरीले २ वटा पत्र लेखेको बताए । सांसद कोइरीको पत्रबारे प्रवक्ता गिरीले भने, उहाँका दुईवटा पत्र प्राप्त भएका छन् । पत्रमा स्वास्थ्य उपचार बिदामा भन्ने भाषामा लेखिएको छ । सांसद कोइरीले माघ २५ गते लेख्नुभएको पत्रमा स्वास्थ्य सुधार भएपछि उपस्थित हुने पत्रमा उल्लेख गर्नुभएको छ ।–00–


