काठमाडौं, १२ बैशाख । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । साथै उनले विकासको अपेक्षा गरेर आफूलाई मत दिएका मतदाताप्रतिको अभिभारा पनि स्वर्णिममाथि आएको बताएका छन् ।
आज बिहान सामाजिक सन्जालमार्फत् डा. वाग्लेलाई बधाई दिँदै भट्टराईले भनेका छन्, ‘मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो । तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ ।’
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९१८ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत पाएका छन् ।
भट्टराईले मतदाताको विकासका चाहना पूरा गर्ने अभियानमा स्वर्णिमले चाहेमा रचनात्मक सहयोग र खबरदारीपूर्ण साथ रहने बताएका छन् । ‘मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहने छु’ भट्टराईले लेखेका छन्, ‘अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।’ –00–


