चितवन, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सवारीचालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । थापाको स्वास्थ्य अवस्था बिहानको भन्दा अहिले सुधारिएको उनको भनाइ छ ।
सोमबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै उनले घटनालाई राजनीतिसँग नजोड्न आग्रह गरेका छन् ।
‘म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला,’ उनले लेखेका छन्, ‘सक्नुहुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला ।’
लामिछानेका ड्राइभर छतबाट खसेको घटनाबारे चितवन प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि लामिछानेका ड्राइभर दिलबहादुर थापासँग आइतबार राति सँगै सुतेका रास्वपा महामन्त्री मुकुल ढकालका ड्राइभर कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘सोधपुछका लागि कार्यालयमा बोलाएको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले भने । यसअघि राजवंशीले सँगै सुतेका थापा कसरी र कतिबेला खसे भन्नेबारे आफूले केही थाहा नपाएको र अरूले हल्ला गरेपछि ब्युँझिएको बताएका थिए ।
सोमबार बिहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ । एसपी कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ । उनी अहिले अचेत छन् । अहिलेसम्म थापा कसरी खसे भन्ने कारण खुल्न नसकेको उनले बताए ।
३९ वर्षीय थापा सोमबार चितवनको भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए । उनी बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उनको उपचार भइरहेको छ । उनको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ । –00–


