काठमाण्डौ ३०, भदौ ।
‘जेनजी’ले यही भदौ २३ र २४ गते गरेको प्रदर्शनका क्रममा देशभरका २६३ सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ । प्रदर्शनका क्रममा देशभरका ३४२ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
“क्षतिको विवरण संलकन कार्य चलिरहेको छ । प्रारम्भविक विवरणानुसार हालसम्म प्रदर्शनकारीको आक्रमणबाट २६३ वटा सरकारी कार्यालय पूर्ण क्षति र ३४२ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ,” गृह मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो ।
यो विवरणमा स्थानीय तहका कार्यालय भवनमा भएको क्षति पनि जोडिएको छ । “प्रदर्शनकारीको आक्रमणबाट देशभरका ८२ वटा प्रहरी कार्यालय पूर्ण क्षति र १२४ वटामा आंशिक क्षति पुर्याएको पाइएको छ,” स्रोतले भन्यो ।
जेनजीले भदौ २३ गते काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन गरेका थिए । सुशासन, निष्क्रिय गरिएका सामाजिक सञ्जाल खुलाउनुपर्ने र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गरेका थिए ।
भदौ २३ गतेको प्रदर्शनमा प्रहरी दमनमा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि भदौ २४ गतेको प्रदर्शन उग्र बनेको थियो ।
प्रदर्शनकारीले भदौ २४ गते प्रमुख प्रशासनिक क्षेत्र सिंहदबार र त्यहाँका मन्त्रालय, सर्वोच्च अदालत, संसद् भवनलगायत सरकारी तथा निजी संरचनामा तोडफोड र आगजनी गरेका थिए ।
जेनजीले तोडफोड र आगजनी आफूहरूले नगरेको जिकिर गरेका छन् । घुसपैठ भएको उनीहरूको भनाइ छ ।
“धेरै ठाउँमा प्रहरीहरू तितरवितर भएका कारण क्षतिको विवरण संकलन गर्न गाह्रो भइरहेको छ । क्षतिको विवरण आउनेक्रम जारी छ । क्षति भएका सरकारी भवनको संख्या अझै बढ्छ,” स्रोतले भन्यो ।
धेरै कार्यालय ध्वस्त भएका कारण प्रहरीको मनोबल खस्केको स्रोतको भनाइ छ ।