खैरहनी–४ का गर्भवती र सुत्केरीलाई पोषण आहार वितरण

खैरहनी,२६ माघ । खैरहनी नगरपालिका वडा नम्बर–४ को वडा कार्यालयले गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण आहार वितरण गर्न सुरू गरेको छ । वडाको वार्षिक कार्यक्रमअन्तर्गत यस वडाभित्र बसोवास गर्ने गर्भवती र सुत्केरी महिलालाई पोषण आहार वितरण गरिएको हो ।

वडा कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको शुभारम्भ गरिएको थियो । पहिलो दिन ३० जना महिलाहरुलाई पोषण आहार वितरण गरिएको वडा सदस्य विवेक विसुरालले जानकारी दिए । साउन १ गतेदेखि आगामी असार मसान्तसम्म सुत्केरी हुने अवस्थामा रहेका तथा सुत्केरी भइसकेका महिलाहरु यो कार्यक्रमबाट लाभान्वित हुने सदस्य विसुरालले बताए ।

खैरहनी–४ का वडाध्यक्ष वेदबहादुर अधिकारीसहित वडा सदस्यहरुले पहिलो चरणमा संयुक्तरुपमा पोषण आहार प्रदान गरेका थिए । सो अवसरमा प्रतिव्यक्ति एक किलो घिउ, एक किलो हर्लिक्स, ६ किलो दाल र २ क्रेट अण्डा प्रदान गरिएको थियो । सुत्केरी तथा गर्भवती महिलाहरुको स्वास्थ्य राम्रो होस् भनेर यो कार्यक्रम ल्याइएको र आगामी वर्ष पनि समावेश गरिने वडा अध्यक्ष वेदबहादुर अधिकारीले बताए ।

यो कार्यक्रमका लागि वडा कार्यालयले यसवर्ष दुई लाख ५० हजार रूपैयाँ विनियोजन गरेको छ । वडा कार्यालयले आज बिहीबार ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रमसमेत गर्दैछ । वडा अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको पोषण वितरण कार्यक्रममा वडा सदस्यहरु विसुराल, तेजबहादुर आले, मीरा परियार, निर्मला थापा, वडा सचिव महेश ढकाल, आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख बर्खा बस्नेतलगायतको उपस्थिति रहेको थियो । –00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु