चितवन, ४ भदौं
साउन ३१ गते चितवनको टिकौली जंगलमा अक्सफोर्ड कलेज गैंडाकोटको बसले ठक्कर दिई भएको दुर्घटनाका सन्दर्भमा आज विभिन्न सञ्चार माध्यममा प्रकाशित बस चालकले गाँजा सेवन गरेको विषयका समाचारलाई लिएर कलेजका तर्फबाट गरिएको क्रियाकलापप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजले सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई धम्की दिंदै आतंकित पार्ने काम गरेको यहाँका पत्रकार सम्बद्ध संघ संगठनहरुले जनाएका छन् । अक्सफोर्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि भएको समाचार प्रकाशित भएपछि कलेजले सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको भन्दै घटनाको सर्वत्र निन्दा र भत्र्सना गरिएको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले कलेजको यस्ता गतिविधिप्रति चितवनले ध्यानाकर्षण भएको जनाएको छ । महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले आज विज्ञप्ति प्रकाशित गरी घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
कलेजका सञ्चालक एवं प्रिन्सिपल हरि भण्डारीका छोरा रोहन भण्डारीको नेतृत्वमा नारायणी अनलाईन र चितवन पोष्ट दैनिकको कार्यालयमा गएको टोलीले कार्यालयमा रहेका पत्रकार राजु चौधरी र गोविन्द अर्याल सहितका पत्रकार एवं सञ्चारकर्मीहरुमाथि गरिएको दुव्र्यवहार एवं धम्कीको महासंघले घोर निन्दा गरेको छ ।
विज्ञप्तिमा भनिएको छ “कुनैपनि समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने बाटो रहन्छ । तर, सञ्चार माध्यमको कार्यालयमा हुलसहित गएर धाकधम्की एवं चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारिता माथिको आक्रमण हो भन्ने हाम्रो ठम्याइँ छ ।” महासंघले दुवै सञ्चार माध्यम र त्यहाँ कार्यरत पत्रकार एवं सञ्चारकर्मीको तत्काल सुरक्षाको प्रबन्ध गर्न र दोषीमाथि कारवाही गर्न जोडदार माग गरेको छ ।

नारायणी अनलाईनको प्रकाशक संस्था नारायणी मिडिया हाउस प्रा.लि. विज्ञप्ति प्रकाशित गरी गण्डागर्दी शैलीमा पत्रकार र सञ्चारकर्मीहरुमाथि आतंकित पार्ने कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रधान सम्पादक राजु चौधरीद्वारा जारी विज्ञप्तिमा अक्सफोर्ड कलेजका सञ्चालक हरि भण्डारीका छोरा रोहन भण्डारी सहितको टोलीले यस अनलाईनको कार्यालयमा आई गुण्डागर्दी शैलीमा पत्रकार तथा सञ्चारकर्मीहरुलाई आतंकित पार्ने कार्य भएको उल्लेख छ । कलेजबाट परिचालित भएका अराजक समूहले मिडियामाथि धम्की दिएको विज्ञप्तिमा जनाईएको छ ।
यसैगरी चितवन पोष्ट दैनिकले आज प्रेस विज्ञप्ति प्रकाशित गरी कलेजका सञ्चालक हरि भण्डारीका छोरा रोहन भण्डारी सहितको टोलीले कार्यालयमा आई धम्क्याएको जनाएको छ ।


