-रेशम सापकोटा
माडी । माडी नगरपालिका–६ मा निर्माण सम्पन्न भएको आधुनिक दुईतले स्वास्थ्य चौकी भवन मंगलबार औपचारिक रूपमा सञ्चालनमा आएको छ। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले रिबन काटी तथा शिलापत्र अनावरण गर्दै भवनको उद्घाटन गर्नुभएको हो।
स्थानीय नागरिकलाई सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको यो भवन माडी नगरपालिकाको ६ लाख रुपैयाँको लागत साझेदारी तथा बागमती प्रदेश सरकारको २ करोड १ लाख रुपैयाँ गरी जम्मा २ करोड ७ लाख रुपैयाँको बजेटमा सम्पन्न भएको हो। भवन निर्माणका लागि दोभान रेशम कृषक सहकारी संस्थाले आवश्यक जग्गा निःशुल्क उपलब्ध गराएको थियो।
उद्घाटन समारोह स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष दीपेन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख निर्मल घिमिरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले नयाँ भवनसँगै स्वास्थ्य चौकीका सेवा विस्तार र स्तरोन्नति गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। यस भवन सञ्चालनमा आएपछि मातृशिशु सेवा, खोप, सामान्य उपचार तथा प्रयोगशाला सेवा अझ व्यवस्थित रूपमा प्रदान हुने अपेक्षा गरिएको छ।
नयाँ स्वास्थ्य चौकी भवन सञ्चालनमा आएसँगै माडी नगरपालिका–६ तथा आसपासका क्षेत्रका नागरिकले अब नजिकैबाटै गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ । –00–


