भारतीयले गोली प्रहार गर्दा सप्तरीमा एक जना घाइते, घटनास्थलमा प्रहरी जाँदै

राजविराज,२५ माघ । कोसी नदीको मध्यभागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १३ गोबरगाढामा बुधबार साँझ भारतीयहरु प्रवेश गरी गोली प्रहार गरेका छन् । ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले ५–६ राउन्ड गोली फायरिङ गरेको सुरक्षा स्रोतले जनाएको छ । छर्रा लागेर स्थानीय महेन्द्र पासमान घाइते भएका छन् । उनको घुँडामा छर्रा लागेको छ ।

मध्य कोसीमा रहेको गोबरगाढाबस्ती भारतीय सीमासित जोडिएको छ । सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय बासिन्दाहरुले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए । ती भारतीय नागरिकलाई छुटाउन ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकहरुले बस्तीमा फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेको वडाध्यक्ष कुशेश्वर यादवले जानकारी दिए । बन्दुक र घरेलु हातहतियारसहित आएका भारतीयहरुले भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेकालाई लगेको वडाध्यक्ष यादवले बताए ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलका अनुसार गोबरगाढामा भारतीयहरु आएर गोली प्रहार गरेको सूचना आएको र त्यसतर्फ नेपाल तथा सशस्त्र प्रहरी परिचालित भइसकेका छन् ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु