धनगढी,२५ माघ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।
रावललाई समर्थन गरेको सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेबारे प्रष्ट निर्णय लिन नसक्दा मुख्यमन्त्रीले ढिलोगरी विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीको विश्वासको मत लिन केही घण्टा मात्र बाँकी रहेको अवस्थामा समेत नाउपाले प्रष्ट निर्णय अझै लिएको छैन भने प्रदेश सभाका ७ जना सांसद काठमाडौंबाट फर्किएका छैनन् ।
पार्टीका संस्थापक रेशम चौधरीलगायतका जेलबन्दीको रिहाइको माग गर्दै आएको नाउपाले माग सम्बोधन नभएका कारण विश्वासको मत दिन नसकिने बताउदै आएको छ तर आधिकारीक निर्णय भने गरिएको छैन् । काठमाडौंमा रहेका नाउपा सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले प्रदेश सरकारले आफूहरुका माग मुद्दा सम्बोधनमा उद्दारता देखाएकाले विश्वासको मतबारे यस्तै हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए ।
उनले बुधबारको प्रदेशसभा बैठकमा सहभागी हुनेगरी धनगढी फर्किने तयारी रहेको बताउदै संसदीय दलको बैठकबाट प्रदेश सरकारबारे निर्णय लिइने जानकारी दिए । अर्का सांसद खुसीराम डगौरा थारुले पनि माग मुद्दा सम्बोधनमा प्रदेश सरकारले भूमिका खेल्न नसकेको बताउदै विश्वासको मतबारे सोच्नुपर्ने अवस्था आएको बताए ।
मुख्यमन्त्री रावललाई नाउपाले विश्वासको मत नदिएमा सुदूरपश्चिममा उनी नेतृत्वको सरकार संकटमा पर्नेछ । रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ जना प्रदेश सभा सदस्यको समर्थनमा २७ पुसमा मुख्यमन्त्री भएका थिए । नाउपाले मत नदिएको अवस्थामा भने उनी सभामुख बाहेक एमाले, माओवादी र राप्रपाका २१ जना सांसदको मत पाउनेछन् । जुन सरकार टिकाउन आवश्यक पर्ने २७ मा ६ जना प्रदेश सभा सदस्यले कम हो । तर एमाले र माओवादी केन्द्र भने नागरिक उन्मुक्ति पार्टीका माग मुद्दा सम्बोधनको प्रक्रियामा अघि बढिसकेकाले मुख्यमन्त्रीलाई नाउपाले विश्वासको मत दिनेमा विश्वस्त देखिएका छन् ।–00–