चितवन, ३ बैशाख । वाग्मती प्रदेश क्रिकेट संघ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा चितवनमा भरतपुर मेयरकप वाग्मती प्रदेश अन्डर १६ क्रिकेट छनोट प्रतियोगिता संचालन हुने भएको छ ।
निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा प्रतियोगिता यही बैशाख ४ गते ९भोलि० देखि बैशाख ७ गतेसम्म संचालन हुने भएको हो । प्रतियोगितामा नेपाल क्रिकेट संघले मान्यता दिएका ६ जिल्ला टिमको सहभागीता रहनेछ । काठमाडौं, भक्तपुर र मकवानपुर समुह ‘ए’मा छन् भने ललितपुर, चितवन र नुवाकोट समुह ‘बी मा छन् । प्रतियोगिता लिगका आधारमा खेलाइनेछ ।
दुई समुहबिचका समुह विजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विधागततर्फ म्यान अफ द सिरिज, म्यान अफ म्याच, बेष्ट ब्याटर र बेष्ट बलरलाई गिफ्ट ह्याम्परको व्यवस्था गरिएको वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले बताउनुभयो । म्यान अफ म्याचको उपहार सौजन्य मन्च टाइम क्याफेले गर्नेछ । यस प्रतियोगितामा सहभागी खेलाडीमध्येबाट नै वाग्मती प्रदेशको अन्डर १६ को टोली तयार गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित कुल ८ लाख खर्च हुने चितवन जिल्ला क्रिकेट संघका सचिव उमेश पियाले बताउनुभयो । जिल्लामा क्रिकेट गतिविधि कम हुँदै गएकाले पनि यस किसिमको प्रतियोगिताले क्रिकेटलाई चलायमान बनाउने उहाँले बताउनुभयो । उद्घाटन खेलमा भोलि काठमाडौं र भक्तपुर बिहान ८ बजे आमनेसामने हुनेछन् । प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्ने आयोजकले जनाएको छ ।–00–


