काठमाडौँ । प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा जाने भन्दै त्यसबारे धारणा बनाउन स्थायी कमिटी सदस्यहरूलाई आग्रह गरेका छन् । स्थायी कमिटीको बिहीबार सुरु भएको बैठकमा दाहालले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ पनि गरेका थिए ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको फागुन २९ गते कार्यकाल सकिन लागेको र नयाँ राष्ट्रपतिका लागि निर्वाचन तयारी भइरहेको अवस्थामा दाहालले पार्टीका नेताहरूबाट सुझाव मागेका हुन् । स्थायी कमिटी सदस्य महेश्वरजंग गहतराजले मुलुकको अबको राजनीतिबारे धारणा बनाएर आउन अध्यक्ष दाहालबाट आग्रह भएको बताए ।अब मुलुक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित हुन्छ । स्थायी कमिटीको यो बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे पनि छलफल हुन्छ । यसबारे सबैले धारणा बनाउनुहोला भन्नुभएको छ,ु गहतराजले भने ।
एमालेसँगको गठबन्धनलाई नै अगाडि बढाउने आफ्नो पूर्ण प्रयास रहने कुरा पनि दाहालले स्थायी कमिटीमा राखेका थिए । उनले एमालेसँग २०७५ सालमा भएको पार्टी एकतादेखि एकता विघटनसम्मका विषय पनि राखेका थिए । स्थायी कमिटी सदस्य जयपुरी घर्तीले बैठकमा अध्यक्ष दाहालले राखेका विषयबारे भनिन्, ुविगतमा पार्टी एकता भयो फेरि विघटन भयो, यो पृष्ठभूमिमा अहिले सरकार बनेको छ । यो गठबन्धन टिकाउने र अर्को निर्वाचनसम्म लैजाने भन्ने हाम्रो कोसिस रहन्छ भन्ने कुरा राख्नुभएको थियो ।
राष्ट्रपति निर्वाचनबारे दाहालले सत्ता साझेदार एमालेसँग छलफल चलिरहेको जानकारी स्थायी कमिटीलाई दिएका थिए । कांग्रेसले सरकारलाई विश्वासको मत दिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा गठबन्धनमा रहेका अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल चलिरहेको उनले बताएका थिए ।
एमालेले गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार उठाउने भनेको र कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा दाबी गरेको कुरा दाहालले बताएका थिए । यस विषयमा दाहालको भनाइ उदृत गर्दै घर्तीले भनिन्, सबैसँग छलफल गरेर जानुपर्छ । कांग्रेसले पनि समर्थन गरेर आएको छ । राष्ट्रपतिबारे गठबन्धनमा पनि छलफल भइरहेको छ ।ु सत्ता गठबन्धनभित्र एमालेबाट राष्ट्रपति र माओवादी केन्द्रबाट उपराष्ट्रपति उम्मेदवार बनाउने सहमति छ ।