चितवन–२ मा उपनिर्वाचन गर्न आवश्यक छैन,आफूलाई निर्वाचित घोषणा गर्न उमेश श्रेष्ठको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले रवि लामिछाने सांसद पद खारेज भए पनि चितवन–२ मा उपनिर्वाचन गर्न आवश्यक नभएको बताएका छन् । सो क्षेत्रबाट ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका लामिछाने पदमुक्त भएपछि दोस्रो धेरै मत ल्याउने आफूलाई निर्वाचित घोषणा गर्न उनले माग गरेका छन् ।

४ मंसिरको चुनावमा श्रेष्ठले चिवतन–२ बाट १४ हजार ९८३ मत पाएका थिए । आइतबार पत्रकार सम्मेलन गरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको उम्मेदवारी नै अवैध भएकाले आफू स्वतः निर्वाचित भएको उनको दावी छ । ‘कानुनको नजरमा उनी निर्वाचित सांसद होइनन्’, श्रेष्ठले भने, ‘उपनिर्वाचन हुन विधिवत निर्वाचित भएको हुनुपर्दछ ।’

 

उनले अगाडि भने, ‘वैधानिक उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने म हुँ । यो तथ्यलाई निर्वाचन आयोगले अस्वीकार गर्न मिल्दैन ।’ श्रेष्ठले आफूलाई स्वतः निर्वाचित गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन पेश गरेका छन् । आयोगले आफ्नो पक्षमा निर्णय नलिए सर्वोच्च अदालतमा जाने उनले बताए । कानुन व्यवसायीहरुको राय अनुसार अघि बढेको श्रेष्ठको भनाइ छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु