वरण्डाभार जैविक मार्गको प्रकृति र थारु समुदायको संस्कृति संरक्षणका लागि होमस्टे

कालिका, २० माघ । पदमपुरमा आजदेखि होमस्टे सेवा सुरु भएको छ । कालिका नगरपालिकाको वडा नं. ५ मा  भीमवली होमस्टे नाम दिएर थारु होमस्टे  सुरु गरिएको हो । होमस्टेको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर रेग्मीले होमस्टेले यहाँका स्थानीयहरुको आर्थिक अवस्थालाई बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो ।पाहुनाहरुको आदरसत्कारलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिन समेत मेयर रेग्मीले सुझाव दिनुभयो । यसले थारु समुदायको कलासंस्कृति संरक्षणसँगै बन र बन्यजन्तु संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा डब्लु डब्लु एफका सहजकर्ता युवराज घतानेले होमस्टेवाट वरण्डाभार जैविक मार्गको प्रकृति र थारु समुदायको संस्कृति संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो पटक पदमपुरमा जग्गाको मूल्यबुद्धी भएपनि यहाँका थारुहरुको जीवनशैली परिवर्तन हुन नसकेको उहाँको भनाईछ ।

कार्यक्रममा भीमवली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले सामुदायिक वनले देखेको एउटा सपना पुरागर्ने अभियानमा आफुहरु लागेको बताउनुभयो । पर्यापर्यटन मार्फत स्थानीय उपभोक्ताहरुको जीवनस्तर उकास्न सहज पुग्ने उद्देश्यले डब्लु डब्लु एफको सहयोगमा पदमपुरमा होमस्टे संचालनगर्ने अभियानमा आफुहरु जुटेको बताउनुभयो । उहाँका अनुसार पदमपुरमा हाललाई सातवटा होमस्टे संचालनमा ल्याइएको छ । थप होमस्टे निर्माणको प्रकृयामा रहेको उहाँले जानकारी दिनुभयो ।

होमस्टेमा आश्रय लिन आउनेहरुले माछा, घुङी, चिचर, हाँसको मासु सँगै थारुहरुको परम्परागत खानाको परिकार खान पाउने व्यवस्था छ । यस्तै सामुदायिक वन क्षेत्रमा जीप सफारीगर्न सकिने व्यवस्था छ ।  भीमवली सामुदायिक होमस्टेका उपाध्यक्ष राजेन्द्र महतोले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा  वरण्डाभार वन संरक्षित क्षेत्रका वरिष्ठ उपाध्यक्ष मछिन्द्र पाण्डे, वडा न.ं ५ का वडा अध्यक्ष दीपक भट्टराई लगायतले बोल्नुभएको थियो । कार्यक्रम भीमवली सामुदायिक होमस्टेका अध्यक्ष लोकराज चौधरीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । –

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु