फोहोर संकलन र व्यवस्थापनका लागि कालिका नगरपालिकालाई जनस्तरबाट दबाब

रत्ननगर । चितवनको कालिका नगरपालिकामा फोहोर संकलन र व्यवस्थापनका लागि जनस्तरबाट दबाब सिर्जना भएको छ । नगरपालिका घोषणा भएको ६ वर्ष बितिसक्दा पनि फोहोर व्यवस्थापनको काम सुरू हुन नसकेपछि यसका लागि जनस्तरबाट दबाब सिर्जना भएको हो । पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले उपयुक्त डम्पिङ साइड पाउन नसक्दा फोहोर व्यवस्थापनको काम सुरू गर्न सकेनन् ।

दोस्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरु आएको आठ महिना हुँदा पनि फोहोर व्यवस्थापनको काम सुरू हुन नसकेका कारण नगरवासीहरुले स्थानीय सरकारलाई दबाब दिएका हुन् । पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फ अवस्थित सो नगरपालिकामा ठूलो बजार छैन । खोलेसिमल यहाँको मुख्य बजार हो । शक्तिखोर, जुटपानी र पदमपुरमा सामान्य खालका बजार छन् । उद्योग कलकारखाना नभएका कारण उक्त नगरपालिकाबाट फोहोर कमै उत्पादन हुन्छ ।

कालिकामा दैनिक २ टनमात्रै फोहोर उत्पादन हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले बताए । अधिकांश ग्रामीण क्षेत्र पर्ने भएका कारण सो नगरपालिकामा फोहोर व्यवस्थापनको काम प्राथमिकतामा पर्न नसकेको हो । नगरपालिका घोषणा भइसकेपछि फोहोर संकलन र व्यवस्थापनको काम अनिवार्य सर्तजस्तै हो । स्थान अभावका कारण योजना बनाएर फोहोर संकलनको काम गर्न नसकिएको नगरपालिकाले जनाएको छ । मेयर विनोद रेग्मी निर्वाचित भएर आएपछि फोहोर संकलन र व्यवस्थापनको काम सुरू गर्ने प्रक्रियामा उनी छन् । आगामी आर्थिक वर्ष २०८०र८१ बाट फोहोर व्यवस्थापनको काम सुरू गर्ने योजनाअनुरुप प्रक्रिया सुरू भइसकेको मेयर रेग्मीले बताए ।

पदमपुर क्षेत्रमा रहेको सार्वजनिक जग्गामा डम्पिङ साइड राख्ने गरी प्रस्तावना लेखनको काम भइरहेको छ । घरबाट निस्कने कुहिने फोहोरलाई जैविक मलको रुपमा प्रयोग गर्ने र प्लास्टिक र सिसाजन्य फोहोरको मात्र व्यवस्थावन गर्ने गरी योजना सञ्चालनको तयारीमा नगरपालिका रहेको मेयर रेग्मीले बताए । मेयर चढ्ने गाडी खरिदका लागि विनियोजित बजेटलाई फोहोर संकलनका निम्ति प्रयोग हुने ट्रयाक्टर, टेलर र ट्याङ्कर खरिद गर्ने गरी योजना संशोधन गरिएको मेयर रेग्मीले बताए ।

विगतमा स्थान अभावका कारण फोहोर संकलन र व्यवस्थापनको काम हुन नसकेको भन्दै उनले दीर्घकालीन योजनाअनुरुप आगामी आर्थिक वर्षबाट फोहोर व्यवस्थापनको काम सुरू हुने बताए ।
प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले फोहोर व्यवस्थापनका लागि प्रदेश सरकारबाट एक करोड ५० लाख रूपैयाँ विनियोजन भएको बताए । ‘हामी योजना सुरू गर्दैछौँ’, उनले भने, ‘ग्रामीण क्षेत्रमा अवस्थित नगरपालिका भएका कारण यहाँको तरिका अन्यको भन्दा फरक हुन सक्छ ।’

फोहोरको वर्गीकरण गरी कुहिने फोहोरलाई घरबाटै नउठाउने र त्यसलाई जैविक मल बनाउने, प्लास्टिकजन्य फोहोर संकलन गरी व्यापारीलाई बिक्री गर्ने र सिसाजन्य फोहोरलाई जमिनमनि गाड्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए ।-चितवन पोष्ट

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु