चितवन(कालिका) । चितवनको कालिका नगरपालिका–६ स्थित शिवपाञ्चाङ्ग मन्दिरमा धर्मशाला/सत्तल निर्माणका लागि मंसिर १६ गतेदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। महायज्ञ सञ्चालनका लागि ११ वटा उपसमितिहरू गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर थापाका अनुसार पण्डित दिपकप्रसाद पौडेलले कथा वाचन गर्नेछन्। महायज्ञको उद्घाटन कालिका नगरपालिका मेयर विनोद रेग्मीले गर्ने कार्यक्रम छ। उद्घाटनअघि बिहान १० बजे मन्दिर परिसरबाट कलशसहित शोभायात्रा निकालिने तयारी समितिका सचिव नन्दलाल लामिछानेले बताए।

शोभायात्रा विभिन्न बाजागाजासहित नगर परिक्रमा गराई यज्ञ मण्डपमा स्थापना गरी महायज्ञको औपचारिक उद्घाटन गरिनेछ। महायज्ञ अवधिभर हरेक दिन बिहान ७ देखि ९ बजेसम्म वेदपाठ, रुद्राभिषेक, जलधार, चौरासी पूजा, ग्रहशान्ति, पितृतर्पण, अन्नदान, भूमिदान, ब्राह्मणभोजन, विवाह, ब्रतबन्ध, गुन्यूचोली पूजा लगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा करिब १० हजार भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको छ। मन्दिरसँग २४ धुर जग्गा भए पनि आफ्नै सत्तल नभएकाले आर्थिक व्यवस्थापनका लागि महायज्ञ आयोजना गरिएको समितिले जनाएको छ। महायज्ञ सञ्चालनमा १०–१५ लाख खर्च हुने अनुमान छ भने ५३ लाख रुपैयाँ जति आम्दानी हुने विश्वास गरिएको छ।


