भरतपुर । चितवनमै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सेवा थाल्ने तयारी गरेको यातायात कार्यालयविरूद्ध पटक–पटक सर्वाेच्च अदालतमा मुद्दा परेपछि सेवा सुरू गर्न ढिलाइ हुँदै आएको छ । सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षाको लागि ट्रायल सेन्टर छनोट गर्ने क्रममा दुई पटकसम्म सर्वाेच्चमा रिट परेको छ । ट्रायल सेन्टरको प्राविधिक मूल्याङ्कन र आर्थिक प्रस्ताव मूल्याङ्कन गर्ने बेलामा छनोटमा नपरेका ट्रायल सेन्टरले सर्वाेच्चमा रिट हालेका हुन् ।
पछिल्लो पटक आर्थिक प्रस्ताव पेश गरेको सद्गुरू ड्राइभिङ ट्रेनिङ सेन्टरले यातायात कार्यालयविरूद्ध रिट हाल्यो । प्रति सेवाग्राही एक पैसामा ट्रायल सेन्टर उपलब्ध गराउने आर्थिक प्रस्ताव पेश गरेको सद्गुरूले आफू छनोटमा नपरेपछि पुस १४ गते सर्वाेच्चमा रिट हाल्यो । यातायात कार्यालयले शून्य रूपैयाँ अर्थात् निःशुल्क ट्रायल सेन्टर उपलब्ध गराउने भनी प्रस्ताव पेश गरेको महालक्ष्मी ट्रायल सेन्टरलाई छनोट गरेको हो ।
आफ्नो मनसाय पनि निःशुल्क उपलब्ध गराउने रहेकाले आर्थिक प्रस्ताव छनोटको प्रक्रिया रोक्न माग गर्दै सद्गुरूका सञ्चालकले रिट हालेका हुन् । तर, सर्वाेच्चले भने ‘स्टे अर्डर’को आदेश दिएन । के कति कारणले महालक्ष्मीलाई छनोट गरिएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणको आदेश किन नदिने ? भन्दै सर्वाेच्चले यातायातसँग जवाफ भने मागेको छ ।
महान्यायाधिवक्ताको कार्यालयमार्फत शुक्रबार सर्वाेच्चलाई जवाफ पठाइएको यातायात कार्यालय चितवनका प्रमुख कालीबहादुर भुजेलले बताए । ‘हामीले शुक्रबार महान्यायाधीवक्ताको कार्यालयमार्फत जवाफ पेश गरेका छौँ’, उनले भने, ‘उनीहरुले उत्प्रेषणको आदेश जारी गरी पाउँ भनी निवेदन पेश गरेका थिए । सर्वाेच्चले उत्प्रेषणको आदेश जारी गरिरहन नपर्ने भन्यो । यो मुद्दामा के कसो भएको हो ? उत्प्रेषणको आदेश जारी हुन नपर्ने कारण के हो ? भनेर अदालतले हामीलाई पत्र लेखेको थियो ।’
कानुन सङ्गत ढङ्गले नै ट्रायल सेन्टर छनोट गरिएको व्यहोरा पठाइएको उनले बताए । न्यून लागत विधिअनुसार एक पैसा भन्दा शून्य पैसा कम देखिएकाले महालक्ष्मीलाई छनोट गरिएको उनले बताए । यसअघि ट्रायल सेन्टरको प्राविधिक मूल्याङ्कनका क्रममा चितवन ड्राइभिङ सेन्टरले निश्चित ट्रायल सेन्टरलाई आधार मानेर मापदण्ड बनाएको भन्दै सर्वाेच्चमा रिट हालेको थियो ।
ट्रायल परीक्षा लिनको लागि यातायात कार्यालयले महालक्ष्मी ट्रायल सेन्टरसँग पुस १७ गते सम्झौता गरिसकेको छ । सम्झौताअनुसार उक्त ट्रायल सेन्टरले ट्रायल लिने बेला प्रशिक्षार्थीसँग कुनै शुल्क लिने छैन । सेवाग्राहीले परीक्षा दिने बेलाबाहेकको अवस्थामा आफूखुसी सिक्ने बेलामा ट्रायल सेन्टरले छुट्टै शुल्क लिन पाउँछ ।
अहिले यातायात व्यवस्था कार्यालयको नयाँ भवमा लाइसेन्स र नवीकरण फाँटको लागि अस्थायी (टिनको टहरा) संरचना बन्दै छ । उक्त टहरामा छवटा कोठा बनाउने तयारी भइरहेको यातायात कार्यालयका लेखा प्रमुख सम्राटमणि अधिकारीले जानकारी दिए । उक्त संरचना माघको अन्तिम सातामा निर्माण सम्पन्न भइसक्ने अपेक्षा गरिएको छ । त्यसलगत्तै लाइसेन्सको सेवा सुरू हुने उनले बताए । -चितवन पोष्ट