चितवनमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको तयारी, चिनियाँ टोली अध्ययनमा

चितवन,३० साउन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ । यसै क्रममा चीनबाट ७ सदस्यीय विज्ञ टोली आवश्यक जानकारी लिन र सहजीकरण गर्न चितवन आएको हो ।

डा. चाहु क्वीमिङ्गको नेतृत्वमा आएको टोलीले अस्पतालका विभिन्न विभागको अवलोकन गर्दै प्रत्यारोपणका लागि आवश्यक पूर्वाधार, उपकरण र तालिमबारे अध्ययन गर्नेछ । अस्पतालले मुख्य भवन छेउमा १,८३४ वर्गमिटर क्षेत्रफलमा आधुनिक दुई तले भवन निर्माण गर्ने योजना बनाएको छ ।

चीनले संरचना निर्माणदेखि चिकित्सक तालिमसम्मका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकनपछि तीन वर्षभित्र सेवा सुरु गर्ने लक्ष्य राखिएको छ भने पूर्ण पूर्वाधार तयार भए एक वर्षमा ५० जनामा प्रत्यारोपण गर्न सकिने अस्पतालको विश्वास छ ।—00–

Share:

सम्बन्धित समाचारहरु