रत्ननगरमा भू-उपयोग वर्गीकरणसम्बन्धी सर्वदलीय अन्तर्क्रिया : सडकको मापदण्ड अवैज्ञानिक भएको ठहर

केशव भट्टराई

रत्ननगर । रत्ननगर नगरपालिका योजना शाखाको आयोजनामा भू-उपयोग नक्साङ्कन तथा भू-उपयोग वर्गीकरण कार्यविधि–२०७९ सम्बन्धी सर्वदलीय अन्तर्क्रिया सम्पन्न भएको छ ।

राष्ट्रिय भूमि ऐन २०७६ र भू-उपयोग नियमावली २०७९ बमोजिम रत्ननगर नगरपालिकाले तयार पारेको भू-उपयोग नक्साङ्कन तथा भू-उपयोग वर्गीकरण कार्यविधि कार्यान्वयनका लागि सर्वदलीय छलफल गरिएको हो । रत्ननगर नगरपालिकाले कृषि, आवास, व्यवसाय, औद्योगिक, खानी, सिमसार र वन क्षेत्रलगायत १० क्षेत्रमा भूमिको वर्गीकरण गरेको छ । रत्ननगर नगरपालिकाका १६वटै वडामा जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ ।

भू-उपयोग वर्गीकरण कार्यविधिमा समावेश भएका विषयमा नेपाली कांग्रेस पार्टीको तर्फबाट नगरसचिव अनिता अर्यालले जग्गा खण्डीकरणलाई निरुत्साहित गरी खाद्य सुरक्षाका लागि कृषिलाई प्राथमिकतामा राखेर रत्ननगरले कार्यविधि बनाएकोमा स्वागत गर्दै जग्गा बिक्री गर्दा दुई कट्ठा क्षेत्रफलको मापदण्ड तोकिनु वैज्ञानिक नभएको बताइन् । घरायसी प्रयोजनले जग्गा बिक्री गर्दा लाग्ने करबाट जनता आहत हुन नहुने र नगरवासीको घरबास नै उठ्ने गरी सडकको मापदण्ड तोकिनु मनासिब नभएको सुझाव दिइन् ।

यस्तै, नेकपा (एमाले) का नगरअध्यक्ष ईश्वरीप्रसाद अर्यालले नगरको विकाससँगै विनास पनि जोडिएर आउने भएकाले सचेत भएर नगरपालिका अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘कतिपय जग्गाहरु प्लटिङका कारण डुबानमा परेका छन्, सडक विस्तारका कारण कैयौ मानिस विस्थापित हुनुपर्ने अवस्था छ, यसतर्फ नगरपालिकाले वडातहमा व्यापक छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

नेकपा (माओवादी केन्द्र)का नगरअध्यक्ष श्यामप्रसाद बरालले घरायसी साँधसिमानाका नमिलेका जग्गा र एउटा घडेरी बिक्री गर्दा सिफारिस शुल्क ५ हजार लिने निर्णय सच्याउनुपर्ने बताए । पैतृक सम्पत्तिको हकमा दुईवटासम्म घडेरी बेच्न सक्ने व्यवस्था बनाउन पनि उनले सुझाव दिए । नगरपालिकाको कार्यविधिमा १६ मिटर सडक भनिएको ठाउँमा धमाधम नौ मिटर सडक ढलान भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै नगरपालिकाले सहभागितामूलक निर्णय गराएर कार्यविधि पास गर्न सुझाव दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नगरअध्यक्ष रामनाथ भट्टराईले नगरपालिकाले सडकको मापदण्ड बनाउँदा र जग्गाको वर्गीकरणको विषयमा जनसहभागितामा सर्वपक्षीय छलफल गरेर अगाडि बढाउन सुझाव दिए । सडक र जग्गाको विषय सँगसँगै जोडिएर आउने विषय भएकाले व्यापक छलफल गरेर ठोस निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारीले पूर्व–पश्चिम राजमार्ग ५० मिटरको बनाइँदै गर्दा निकुञ्जमार्ग (सौराहाचोकदेखि चित्रसारी हुँदै सौराहा ड्यामसम्म) ३० मिटरको मापदण्ड बनाइनु हजारौँ नगरवासीको भावनाविपरीत रहेको बताए । उनले भने, ‘निकुञ्जमार्ग ३० मिटर बनाइनु दीर्घकालीन मह¤व र पर्यटकीय दृष्टिले उपयुक्त भए पनि हजारौँ नगरवासीलाई सुकुमबासी बनाउने नगरको कस्तो नीति हो ? ‘निपनीदेखि खोससोरसम्मको पर्यटनमार्ग १६ मिटर कायम हुँदा निकुञ्जमार्गलाई ३० मिटरको मापदण्ड बनाइनु अन्याय हुने उनको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी)का नगरसचिव ईश्वरीराज अधिकारीले भूउपयोग वर्गीकरण कार्यविधिमा सडकमा एकरुपता नहुँदा नगरवासी विस्थापित हुनुपर्ने अवस्था देखिएकाले सडकको मापदण्डसँगै जग्गाको वर्गीकरण एकैसाथ हुनुपर्नेमा जोड दिए । भूउपयोग वर्गीकरणको विषयले वडाध्यक्षलगायत जनप्रतिनिधि नै समस्यामा पर्ने अवस्था देखिएकाले नगरवासीलाई पीडा नहुनेगरी कार्यविधि बनाउन सुझाव दिए ।

रत्ननगर नगरपालिकाका योजना प्रमुख ई।प्रकाशचन्द्र ढुङ्गानाले नगरपालिका भित्रका कतिपय सडक २०५९ नेपाल सरकारको राजपत्रमा समावेश भइसकेकोले नगरपालिकाले आफूखुसी निर्णय नगरिएको प्रष्ट पारे । राजपत्रमा उल्लेख भएको सडकको विषयलाई संघीय सांसद्मार्फत मन्त्रिपरिषद्मा पु¥याउन नगरपालिकाले पनि सहयोग गर्ने उनले बताए । सरकारको १० वटा क्षेत्रको कार्यविधि अनुरुप नै भू-पयोग वर्गीकरण गरिएकाले सोहीअनुसार बुझिदिन आग्रह गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि र १६ वटै वडाका वडाध्यक्षहरको सहभागिता रहेको अन्तक्र्रियामा उठेका सवालबारे रत्ननगर नगरपालिका जग्गा भूव्यवस्थापन समितिका सदस्यसचिव एवं नगर उपप्रमुख यादवप्रसाद पाठकले नगरपालिकाले बनाउने योजना दीर्घकालीन र सराकारको दिगो विकास लक्ष्यसँग जोडिने भएकाले समयसँगै विकासको गति बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

सडक विस्तारको लागि नगर यातायात गुरूयोजना २०७५ सालमै पास भइसकेकोले परिमार्जन गर्नुपर्ने सडकका विषयमा छलफल गरेर अगाडि बढाइने उनको भनाइ थियो । उनले सडकबाटोलाई जग्गाको वर्गीकरणसँग नजोडिदिन आग्रह गरे । ‘हामी नगरवासी विस्थापित हुनेगरी काम गर्दैनौँ । दुई मिटर मापदण्ड छाडेर घर बनाउन भनेका छौँ’, उनले भने, ‘नगरपालिकाले हाल कायम रहेको पिच सडकबाट दुई मिटरसम्मका कम्पाण्ड भने जुनसुकै बेला डोजर लगाएर भत्काउन सक्छ ।’

अन्तर्क्रिया कार्यक्रम नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा भएको थियो । नगरप्रमुख सापकोटाले नगरवासीलाई न्याय हुनेगरी नगरपालिकाको प्राविधिकहरुको सहयोगमा जग्गाको वर्गीकरण गरिएकाले उद्योग, सिमसार, खानी र वनबाहेकका जग्गा आवश्यकताअनुसार परिवर्तन पनि गर्न सकिने उल्लेख गरे ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु