चितवन । नारायणगढस्थित नारायणी नदी किनारमा माघ १२ गतेदेखि हुन लागेको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको तयारी तीव्र पारिएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा नारायणी नदी किनारमा माघ १२ गते वसन्त पन्चमीदेखि फागुन १२ गतेसम्म ज्ञानमहायज्ञ हुन लागेको छ ।
ज्ञानमहायज्ञको प्रचारप्रसारसँगै नदी किनारको व्यवस्थापन कार्य अगाडि बढाइएको छ । नदी किनारमा ज्ञानमहायज्ञ गर्न भरतपुर महानगरपालिकाले पनि अनुमति दिइसकेको छ । सुरक्षा व्यवस्था मिलाउने, फोहोरमैलाको व्यवस्थापन गर्ने र कानुन बमोजिम गर्नुपर्ने सबै सर्त पुरा गरेर महायज्ञ गर्न महानगरले स्वीकृति दिएको हो । सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाज कँडेलले जानकारी दिए । नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनले बताए । कोटिहोमको दर्शन गर्न पाउनु मात्रै पनि महत्वको विषय भएको उनको भनाइ छ ।
नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्व तथा महामण्डलेश्वर आत्मानन्द गिरी, रमणानन्द गिरी, स्वामी जगन्नाथाचार्य, हरिशरण उपाध्याय, किशोरकुमार गौतम आदि नेपालका प्रमुख सन्तमहात्माहरूको संरक्षकत्वमा महायज्ञ हुने आयोजकले जनाएको छ । त्यस्तै, महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्री मन्त्रद्वारा १ महिनासम्म हवन, तर्पण एवम् मार्जन, श्रीमद्भागवत तथा शिवमहापुराण पाठ एवम् प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवम् राजनैतिक व्यक्ति सहभागी हुने छन् ।
सनातन संस्कृति–गोवंश संरक्षणबारे चिन्तन, मन्थनसहित प्रवचन, सवा करोड ५ सरे दीपप्रज्वलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कवि÷कलाकारहरूद्वारा कवितावाचन, भजन, सांस्कृतिक झाँकी, वरिष्ठ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, योग, ध्यान एवम् बालसंस्कार कार्यक्रम, १०८ शालग्राम तथा शिवलिङ्गको सेवा–पूजा, दर्शन सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति लगायत कार्यक्रम गरिने भएको छ । विपन्न तथा अशक्तहरूका लागि निःशुल्क सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति कार्यक्रम गरिदिने आयोजकले स्पष्ट पारेको छ । महायज्ञमा सनातन परम्परा अँगाल्ने कुनै समुदाय वा जाती बीच विभेद नगरिने उनले बताए । युवा वर्ग केन्द्रित गरिने महायज्ञमा दान गर्ने दाताहरु बीच समान व्यवहार गरिन र ज्ञानविज्ञानको विशेष चर्चा गरिने बताइएको छ ।