सेतो नेपाल-
भरतपुर । लामो समयदेखि निर्माण भएर पनि संचालनमा आउन नसकेको मिनीपानी जहाज ( क्रुजसिप ) माघ १ गतेदेखि संचलनमा आउने भएको छ । फागुनमै संचालनगर्नै भनिएपनि प्राविधिक समस्याका कारण संचालनमा आउन सकेको थिएन ।
राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले १ गतेदेखि नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसायीक रुपमा सञ्चालन गर्न शुल्क समेत निर्धारण भैसकेको छ । भरतपुर–१६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन रहेको छ ।
ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । टिकटका लागिमात्र ७ सय रुपैयाँ तोकिएको छ । झण्डै १ घण्टा नारायणीमा सयर गर्न पाइने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ । क्रुजसिप ३ तलोको रहेको छ । १ सय ८० जना यात्रु एकैसाथ चढ्न पाउनेछन् ।
हरेक यात्रुको १० लाख बराबरको विमा हुनेछ । क्रुजसिपमै बसेर विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने सुविधा समेत राखिएको छ । राइनो क्रुजसिप नामको सो मिनी पानी जहाज नारायणी नदीको दृश्यावलोकन गर्दै स्वदेशी तथा विदेशी पर्यटक रमाउने उनको भनाई छ ।
क्रुजसिप निर्माणमा १५ करोड बढी खर्च भएको छ । ४० किलोमिटर सञ्चालनको अनुमति पाएपनि नदीले बाटो परिवर्तन गरेको र नदीको सतह वर्षभरीकै न्यूनतम सतहमा आएकाले तत्काल लामो दुरीमा सञ्चालन गर्न नसकिने बताइएको छ ।