देवघाटधाममा लिङ्गो गाडेर गरियो माघेसङ्क्रान्ति मेलाको शुभारम्भ

चितवन । कोभिड–१९ का कारण गत तीन वर्षसम्म हुन नसकेको देवघाटको माघेसङ्क्रान्ति मेला यो वर्ष आज शनिबार शुभारम्भ गरिएको छ । कालीगण्डकी र त्रिसुलीको संगम स्थल तथा चितवन, तनहुँ र नवलपरासीको संगम पवित्र तीर्थस्थल देवघाट धाममा शनिबार किहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाकोे शुभारम्भ गरिएको हो ।

देवघाटस्थित गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरीजी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्दजी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याएर मेलाको शुभारम्भ गरिएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, सदस्य नवराज ढकाललगायतको उपस्थिति रहेको थियो ।

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीले जानकारी दिएअनुसार यस वर्ष विधिवतरुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम पनि सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माघे सङ्क्रान्ति मेलाको अवसरमा आज र भोलि नारायणगढ मुग्लिन सडकखण्ड नरोकिने जानकारी दिए । पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले पुस ५ गतेदेखि दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो । सङ्क्रान्ति मेलाका लागि सडक नरोकिने भएको हो ।

देवघाटमा मसान्तको राति भक्तजनहरु जाग्राम बस्ने प्रचलन छ । शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास रहिआएको छ । माघेसङ्क्रान्तिमा पवित्र नदीको संगमस्थलमा स्नान गर्न र मेला भर्न लाखौँ भक्तजनहरु आउने गर्छन् ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु