औद्योगिक विकासको विषयमा उपप्रधान तथा गृहमन्त्री र उद्योगीहरु बीच छलफल

भरतपुर÷चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयमा माननीय उपप्रधान तथा गृहमन्त्री र उद्योगीहरु बीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष एवम् नीति निर्माण समन्वय तथा औद्योगिक पाठशाला सञ्चालन विभागका संयोजक युग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा उद्योगीहरुका समस्या र समाधानका लागि सुझावहरु सहितका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

प्रस्तुतिकरण पछि कार्यक्रमका विशेष व्यक्तित्व नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संघले अघि सारेका परियोजनाहरु निकै महत्वपूर्ण रहेको बताउनुभयो । आफूलाई चितवनका जनताले दिएको मतको कदर गर्दै आफूले उद्योगीहरुको समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य लिएको समेत बताउनुभयो । कालिका नगरपालिकामा डिपिआर र ईआईए समेत भई अगाडि बढिरहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आफूहरुले अगाडि देखिनै चासोका साथ हेर्दै आईरहेको र शक्तिखोर औद्योगिक क्षेत्र विशेष प्राथमिकतामा राखेकोले आफ्नो कार्यकालमा यसको सञ्चालनको लागि आफू पूर्ण रुपमा लाग्ने बताउनुभयो । सो अवसरमा गृहमन्त्री लामिछानेले संघले अघि सारेको औद्योगिक पाठशालाले पक्कै पनि औद्योगिक प्रबद्र्धनमा ठूलो टेवा पुग्ने हुँदा उक्त परियोजनालाई विशेष महत्वका साथ विस्तृत अध्ययन गरी अगाडि बढाउने प्रक्रियामा आफूहरु सकारात्मक रहेको समेत बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष त्रिलोचन कँडेलले संघले शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा तयार पारेको सञ्चालन प्रस्ताव पत्र, चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेलले कंक्रिट मिक्स्चर मेशिन उत्पादक उद्योगीहरुले झेल्नु परेका विविध समस्याहरुको समाविष्ट गरी तयार पारिएको सुझाव पत्र गृहमन्त्री रवि लामिछानेलाई पेश गर्नुभएको थियो ।

छलफल कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी, भीमबहादुर पाण्डे, भेषराज दुवाडी, कृष्ण प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी, कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु लगायतका उद्योगीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको थियो भने, संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

Share:

सम्बन्धित समाचारहरु