काठमाडौं, २४ जेठ । आउँदो बुधबार (जेठ २८)देखि देशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसमविद्हरूका अनुसार बिहीबार (जेठ २९)देखि वर्षाले तीव्रता लिनेछ भने असार १ गतेसम्म मनसुन देशभर फैलिने सम्भावना छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आगामी तीन दिनसम्म तापक्रम अझै बढ्ने र त्यसपछि पूर्वी नेपालबाट वर्षा सुरु हुने बताएका छन् । शनिबार (जेठ २४) दिउँसो सामाजिक सञ्जाल ‘एक्स’मार्फत डा. पोखरेलले लेखेका छन्, “नेपालमा अझै तीन दिनसम्म गर्मी बढ्ने र मंगलबारदेखि पूर्वी भेगमा वर्षा सुरु हुने देखिन्छ ।”
उनका अनुसार बुधबारदेखि देशका अधिकांश स्थानमा हल्का वर्षा सुरु हुनेछ भने बिहीबारबाट वर्षाको गति बढ्दै जान्छ । “असार १ गतेसम्म मनसुन देशभर फैलिनेछ र केही स्थानमा भारी वर्षासमेत हुन सक्छ,” डा. पोखरेलले उल्लेख गरेका छन् ।
सरदर मिति (जुन १३)भन्दा १५ दिनअघि नै नेपाल प्रवेश गरेको मनसुन हाल कोसी प्रदेशमा स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन अझै देशभर फैलिन बाँकी छ ।


